पशुपति दर्शनमा पुगेकाहरूले भने : ‘व्यवस्थापन राम्रो छ, विकास कोषलाई धन्यवाद’

मनिषा बस्नेत
काठमाडौं । हिन्दु नारीहरूको महान् चाड तीजको अवसरमा आज(मंगलबार)बिहानैदेखि पशुपति मन्दिरमा दर्शन गर्नेहरूको भीड लागेको छ ।
रातो पहिरनमा सजिएर मन्दिर पुगेका महिलाहरू कतै नाचगानमा व्यस्त छन् भने कतै भगवान शिवको दर्शनका लागि लाइनमा बसेका छन् । बिहानैदेखि मन्दिर परिसरमा भीड थेगिनसक्नु छ ।
दर्शन गर्नका लागि सहज बनाउन पशुपति क्षेत्र विकास कोषले सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालन गरेको छ भने पाशुपत क्षेत्रकै वातावरण नाचगान र भजनसँगै भक्तिमय बनेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर १० को स्वयंसेविका गोमा बरालले यस वर्ष लाइन व्यवस्थापन एकदम राम्रो भएको सुनाउँछिन् । उनले कृत्रिम वाटर ड्रपलेटले शीतल बनाउँदा व्रतालुहरू ढल्ने, बेहोस हुने जस्ता समस्या नभएको पनि बताइन् ।
उनले भनिन्, ‘धेरै महिलाहरू दर्शनको लागि आउनु भएको छ । दर्शन गर्न सजिलै भएको छ । लाइन धेरैवेर बस्न परेको छैन । यस वर्ष ढल्ने, बेहोस हुने केही समस्या आएको छैन । गत सालको भन्दा पनि यो साल अझ व्यवस्थित छ । व्रत बसेर दर्शन गर्न आएकाहरूले सजिलै दर्शन गर्न पाएका छन् । कृत्रिम वाटर ड्रपलेटले अझ सजिलो भएको छ, शीतल बनाएको छ ।’
बरालका अनुसार देवी पार्वतीले अघिल्लो दिन दर खाएर आजको दिन शिव पति पाउ भनी निराहार वर्त बसेको कुरालाई अहिलेसम्म निरन्तरता दिइएको हो । बरालले श्रीमान् नहुनेले छोरानाती र श्रीमान् हुनेले श्रीमानको दिर्घायूको लागि ब्रतबस्ने गरेको बताइन् । आफ्नो इच्छा अनुसार व्रत बस्ने गरेको उनले सुनाइन् ।
‘जसको श्रीमान् छैनन् उहाँहरूले छोराहरूको लागि, नातिहरूका लागि, श्रीमान् हुनेले श्रीमानको दीर्घायुको लागि, जसको विवाह भएको छैन उनीहरुले असल पति पाउ भन्नको लागि व्रत बस्नुभएको छ । अरू आफ्नो इच्छा पनि होला’ उनले भनिन् ।
आजभोलि खाने दरका कारण महिला नै बदनाम हुने र त्यस्तो प्रवृत्तिलाई न्यूनीकरण गर्नुपर्ने उनले बताइन् ।
उनले भनिन्, ‘हुनेले खाने हो । एक महिनादेखि नहुनेले के खाने ? हिजो हाम्रा आमाहरूले तीन दिनको लागि पुग्ने गरी घाँस, दाउरा पुर्याएर दर खानुहुन्थ्यो र व्रत बसी नजिकैको मन्दिरमा दर्शन गर्नुहुन्थ्यो । हिजोआज विकृति फैलिएको छ । यसलाई न्यूनीकरण गर्नुपर्छ । छाडा प्रथा बढ्यो । जथाभाबी खाएर हिँड्दा महिलाहरूको बदनाम हुन्छ ।’
यस्तै धनगढीकी प्रीति आचार्यलाई पनि यस पटकको पशुपति मन्दिरको माहौलले धनगढीलाई बिर्सिएकी छन् । पोहोर सालको गर्मी सम्झिँदै प्रीतिले यस वर्ष कृत्रिम वाटर ड्रपलेटले तापक्रम कम गर्दा झनै रमाइलो भएको बताइन् ।
‘धनगढीमा पनि एकदमै रमाइलो हुन्थ्यो । तर यहाँ पनि रमाइलो भइरहेको छ । कृत्रिम वाटर ड्रपलेटले तापक्रम कम गरेको छ । पोहोर साल पनि म आएको थिए । त्यस वेला एकदमै गर्मी थियो । नयाँ व्यवस्थाले छिन छिनमा मुखमा पानी आएको जस्तो भइरहेको छ,’ उनले भनिन् ।
बालाजुबाट पशुपति आएकी अन्शु नाम बताउने युवतीले लाइन छिटो छिटो सर्दा दर्शन गर्न सहज भएको प्रतिक्रिया दिइन् । ट्राफिकको सहयोगले वातावरण सहज बनेको उनको धारणा छ ।
उनले भनिन, ‘पहिलाको भन्दा छिटो छिटो लाइन अगाडि बढेको छ । पहिला लाइन सर्दैनथ्यो अहिले ट्राफिक प्रहरीले पनि धेरै सहयोग गरेको भएर होला छिटो छिटो लाइन सरेको छ ।’
पहिलेको तीजलाई सम्झिँदै आजको तीजमा धेरै भिन्नता आएको काठमाडौँको डिल्लीबजार घर भएकी रेनु उपाध्याय सुनाउँछिन् । बुढेसकाल लागेकाले पशुपति दर्शन गर्न गार्हो होला भन्ने थियो तर यसपालि सहज भएको सुनाइन् ।
डर लागेको थियो तर यसपालि सजिलै भयो । पहिले र अहिलेको तीजमा फरक छ । पहिले पहिले निराहार बसिन्थ्यो, केही खाने थिएनन्, अहिले नाचगान धेरै बढी छ ।’
उनले अहिले दर खाने भनेर बिहे खाएको जस्तो गर्ने भन्दै भड्किलो तीज भएको बताइन् ।
उनले भनिन्, ‘दर खाने भनेर पार्टीमा गएर बिहे खाएको जस्तो गर्छन् । पहिले आफ्ना छोरी–चेलीबेटी, भान्जा–भान्जी सबै मिलेर राती ९÷१० बजे खान्थेँ । अहिले धेरै फरक छ । पार्टी गरेर दर खाने अली बढी भड्किलो भयो । सबै जम्मा भएर आफ्नै घरमा खाने राम्रो हो ।’
पशुपति विकास कोषले राम्रो व्यवस्था गरेको भन्दै कोषलाई धेरै धन्यवाद समेत दिएका छन् ।
(नेपाल न्यूज बैंक)