अमेरिकामा गण्डकी प्रदेशका मुख्य मन्त्रीले भने: ‘एनआरएनए नागरिकता कार्यान्वयन सहजीकरण गर्ने छु’

मानसस, भर्जिनिया/ नेपाल सरकार गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयनमा आफूले इमान्दारिकताका साथ सहजीकरण गर्ने बताएका छन्।
गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको शनिवार भर्जिनियाको मानससमा सम्पन्न १४ साधारण सभा तथा नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण एवं पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका पाण्डेले एनआरएनए नागरिकता आफ्नो क्षेत्राधिकार भन्दा बाहिरको विषय भएको पनि बताए।
नेपालको संविधानमा व्यवस्था भए अनुसार अघिल्लो सरकारले जारी गरेको एनआरएनए नागरिकता कार्यान्वयनमा आउन सकेको छैन। साधारण सभाका वक्ताहरूले सो प्रसङ्ग समेत उठाएका थिए। त्यसको जवाफ दिने क्रममा मुख्य मन्त्री पाण्डेले आफ्नो सीमाका बारेमा पनि जानकारी गराएका हुन्।
‘तपाईँहरूको गुनासो छ। मलाई पनि लाग्छ मेरा परिवारका पनि केही मान्छेहरू प्रवासी रुपमा अमेरिका पनि हुनुहुन्छ। उहाँको कुरा सुन्दा खेरि पनि धेरै साथीभाइहरूको गुनासो सुन्दा र हामीले आफैले हेर्दा खेरि पनि हामीले बनाएको कानुन त्यो स्पिरिट अनुसार सम्बोधन गर्न सकेन त्यसमा तपाईँहरूको कुरामा कसरी सहजता गर्ने त्यो छलफल संघीय स्तरमा पनि चलेको छ।‘ मुख्य मन्त्री पाण्डेले भने।
उनले एनआरएनए त्यस्ता छलफल पार्टीगत र सरकारको बिचमा पनि चलेको बताए।
‘आर्थिक रुपमा जुन अधिकार दिने भन्ने कुरा थियो त्यसको खासै सम्बोधन हुन सकिरहेको अवस्था छैन। अहिले पनि तपाईँहरूले नागरिकता दिसकेपछि मालमा जाँदा, उद्योगमा जाँदा, बैङ्कमा जाँदा खेरि जे समस्या भोगिरहनु भएको छ त्यसले प्राप्त गरेको नागरिकताले सम्बोधन गर्न सकेन। त्यसैले यसलाई कसरी परिमार्जन गर्ने र पूर्ण अधिकार सहितको यो कसरी अगाडि बढ्ने भन्ने कुरा छन् छलफल चलिरहेको छ।‘ मुख्य मन्त्री पाण्डेले भने, ‘मलाई लाग्छ कि छिट्टै नै यी कुरा पनि यी कुराहरूको पनि सम्बोधन हुनेछ भन्ने मेरो विश्वास छ।‘
उनले आफू संघीय सरकारको प्रतिनिधि नभएको कारण धेरै कुरा बोल्न नसक्ने बताए।
‘त्यो समस्या छिटो सम्बोधन गर्न को लागि म यति मात्र बचन दिन सक्छु म सङ्घीय सरकार को प्रतिनिधि होइन म एउटा प्रदेश सरकार को नेतृत्व गर्ने हुँ तपाईँहरूको आवाजलाई म यहाँबाट गइसकेको हुँ थाहा नभएको त होइन। प्रधानमन्त्रीलाई नि थाहा छ यो कुरो, प्रधानमन्त्रीजीलाई नि थाहा छ। स्टेकहोल्डरहरु जो जो हुन्छ सबैलाई थाहा छ। तर पनि यसलाई अझ एउटा क्यारियर एउटा चाहिँ नि के भन्छ मेसेन्जरको रुपमा चाहिँ नि मैले यी कुराहरू राख्ने छु। र यसको सहजीकरण गर्ने मेरो तर्फबाट इमानदारितापूर्वक प्रयत्न गर्ने छु।‘
उनले नेपाल बाट हजारौँ माइल टाढा बसेर पनि देश प्रतिको चिन्ता चासो र एकता र प्रतिबद्धता देखाएकोमा खुसी व्यक्त गरे। मुख्य मन्त्री पाण्डेले प्रवासमा रहेका नेपालीको बीचमा एकताको खाँचो रहेको पनि बताए।
एनआरएनए अमेरिकाको साधारण सभा पछि अध्यक्षमा विजयी सतेन्द्र साह सहितका पदाधिकारीहरूले पद तथा गोपनीयताको सपथ लिँदै पदभार ग्रहण गरेका थिए।
यसै बीच सतेन्द्र साह अध्यक्ष रहेको एनआरएनए अमेरिकाको प्रवक्तामा सन्देश उप्रेती मनोनयन भएका छन्।
निर्वाचनको विषयलाई लिएर डा. अर्जुन बन्जाडे अध्यक्ष रहेको एनआरएनए अमेरिका फुटेको थियो। जुलाइमा भएको निर्वाचनले विकास उप्रेतीलाई अध्यक्षमा निर्विरोध गरेको थियो।
अगस्तमा भएको निर्वाचनबाट सतेन्द्र साह विजयी भएका थिए। अगस्तको निर्वाचनमा अध्यक्षमा साह सहित भानु खरेल, रामहरि अधिकारी र राज आचार्य चुनावी मैदानमा थिए।
एनआरएनए आइसीसीमा महेश श्रेष्ठ र डा. बद्री केसी आधिकारिकताको लडाइमा छन्। यो मुद्दा अहिले नेपालको सर्वोच्च अदालतमा विचारधिन छ।
नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले डा. बद्री केसी र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले महेश श्रेष्ठलाई आधिकारिक समिति भन्दै आएका छन्।
र यो पनि…