एनआरएनए विभाजन हुनुमा प्रधानमन्त्री ओली दोषी: आनन्द विष्ट

मानसस, भर्जिनिया/ नेपाली जनसम्पर्क समितिका सभापति आनन्द (गोरख) विष्टले गैर आवासीय नेपाली संघ (एनआरएनए) मा विभाजन हुनुमा नेपाल सरकारका प्रधानमन्त्री दोषी भएको आरोप लगाएका छन्।
एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको शनिवार भर्जिनियाको मानससमा सम्पन्न १४ औँ साधारण सभा तथा नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका पूर्वआमन्त्रित केन्द्रिय सदस्य समेत रहेका विष्टले सो आरोप लगाएका हुन्।
एनआरएनएमा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) देखि एनसीसी सम्म विवाद छ। अमेरिका पनि अहिले एनआरएनए एनसीसीका नाममा तीन समूह सक्रिय छन्।
सूर्य लम्सालले केही वर्ष अगाडि देखि नै छुट्टै समूह चलाउँदै आएका छन्। डा. अर्जुन बन्जाडे अध्यक्ष रहेको एनसीसी पनि कुन समयमा निर्वाचन गर्ने भन्ने विषयमा विवाद हुँदा फुटेको छ।
बन्जाडे समितिका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती सहितका केही पदाधिकारीहरूले जुलाईमा नै एनआरएनए अमेरिकाको निर्वाचन भएको घोषणा गरेका थिए। जुलाईमा भएको निर्वाचनमा विकास उप्रेतीको अध्यक्षतामा निर्विरोध कार्यसमितिको चयन गरेको थियो। सो समितिलाई डा. बद्री केसी रहेको आइसीसीले मान्यता दिएको छ।
एनआरएनए अमेरिकाको अगस्तमा भएको निर्वाचनमा सतेन्द्र साह अध्यक्षमा निर्वाचित भएका थिए। गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष विष्टले एनआरएनएमा यो परिस्थिति हुनुको मुख्य दोष प्रधानमन्त्री ओलीमाथि थुपारे।
‘यो खालको परिस्थिति सिर्जना हुनमा तपाई हाम्रो दोष छैन। नेपालमा भएको सरकार दोषी छ यसको लागि, प्रधानमन्त्री ज्यु दोषी हुन्छ यसको लागि ।‘ विष्टले भने, ‘अहिले प्रधानमन्त्री जी ले संघलाई धेरै ठुलो असहयोग गर्नु भएको छ।‘
विष्टले विभागीय मन्त्रीले उद्घाटन गरेको एनआरएनए आइसीसीको साधारण सभामा प्रति प्रधानमन्त्री ओलीमा इगो भएको दाबी समेत गरे।
सर्वोच्च अदालतको परमादेश अनुसार गत मे महिना भएको एनआरएनए आइसीसीको एकता महाधिवेशनले महेश श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन गरेको थियो। एकता महाधिवेशनको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उद्घाटन गरेकी थिइन। पछि परराष्ट्र मन्त्रालयले पनि महेश श्रेष्ठ समितिलाई मान्यता दिएको थियो। तर प्रधानमन्त्री ओलीले डा. बद्री केसी अध्यक्ष रहेको समितिलाई आधिकारिक भन्दै आएका छन्।
यद्पी एनआरएनए आइसीसीमा आधिकारिकता सम्बन्धी मुद्दा नेपालको सर्वोच्च अदालतको पूर्ण इजलासमा विचराधिन छ।
‘आइसीसीको निर्वाचन तालुकदार मन्त्री ज्युले उद्घाटन गरेर आइसकेपछि अहिले म एउटा कुरा हाम्रो आदरणीय मुख्यमन्त्री जी यहाँ हुनुहुन्छ, उहाँले (प्रधानमन्त्रीले) एउटा इगो आफ्नो हट गरेर रहनुभएको छ तपाईँले।‘ विष्टले भने।
उनले प्रधानमन्त्रीको लागि सबै समान हुनु पर्ने बताए।
‘प्रधानमन्त्री कुनै पार्टीको हुँदैन। प्रधानमन्त्री देशको हुन्छ। सबै जनताको हुन्छ। प्रधानमन्त्रीले जुन काममा हात गरिरहनुभएको छ।‘ सभापति विष्टले भने, ‘म क्षमा चाहन्छु। म धेरै अपशब्द बोल्ने मान्छे हैन। तर त्यो बेला म बाध्य नै हुन्छु।‘
विष्टले निर्वाचन एउटा प्रक्रिया भएकाले त्यसलाई स्विकार्नु पर्नेमा जोड दिए।
‘निर्वाचन भनेको एउटा प्रक्रिया हो। कोही विजेता हुन्छ, कोही उपविजेता हुन्छ। हाम्रो विगतको प्राक्टिस कस्तो भने जितेको मान्छेलाई हारेको मान्छेलाई कसरी सिकाउने भन्ने जस्तो प्राक्टिस थियो।‘ विष्टले भने।
विष्ट सन् २०१४ मा सम्पन्न अधिवेशनबाट निर्वाचित भएका हुन्। जनसम्पर्क समितिको विधानमा हरेक तीन वर्षमा नयाँ निर्वाचन हुने व्यवस्था छ तर विष्टले सन् २०१७ मा बाहेक संस्थाको साधारण सभा पनि गराएका छैनन्।
नेपाली जनसम्पर्क समिति नेपाली कांग्रेसको विदेश स्थित भातृ संस्था हो। पार्टीले सन् २०२६ को डिसेम्बर भित्रमा नेपाली जनसम्पर्क समिति अमेरिकाको निर्वाचन गर्न भनेको छ। तर विष्ट सभापति रहेको समितिले अझै निर्वाचनको मिति तोकेको छैन।