मन्त्री राणालाई विपिन जोशीका आमा र बहिनीको धन्यवाद

काठमाडौं । हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको पहलका लागि विपिनकी आमा र बहिनीले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई धन्यवाद दिँदै आगामी दिनमा थप पहल गर्न आग्रह गरेका छन् ।
विपिनकी आमा र बहिनीले आइतबार परराष्ट्र मन्त्रालयमा भेट गर्दै मन्त्री डा.राणा र परराष्ट्र मन्त्रालयले विपिनको रिहाइका लागि हालसम्म गरेको प्रयत्नका लागि आभार व्यक्त गर्दै आगामी दिनमा थप सक्रियताका साथ निरन्तरता दिन आग्रह गरिन् ।
मन्त्री डा राणाको पहल एवं नेपालस्थित इजरायली राजदूतावासको समन्वय तथा सहयोगमा विपिनकी आमा र बहिनी विपिनको अवस्था बुझ्न र उनको रिहाइका लागि अपिल गर्न हालै इजरायल गएका थिए । इजरायलबाट फर्केपछि आइतबार उनीहरूले मन्त्री डा राणालाई भेटेर यसबारेमा जानकारी गराए ।
उनीहरुले आफूहरू इजरायलमा रहँदा त्यहाँस्थित नेपाली राजदूत प्रा डा धनप्रसाद पण्डित र इजरायल सरकारका अधिकारीहरुले सहयोग गरेको र त्यहाँ राष्ट्रपतिदेखि उच्च सरकारी अधिकारीहरूसँग भेटेर विपिनको रिहाइका लागि अपिल गर्न पाएको जानकारी दिए ।
मन्त्री डा राणाले सरकारले विपिनको रिहाइमा सक्दो कूटनीतिक प्रयत्न गरिरहेको र आगामी दिनमा यसलाई थप सशक्त बनाउने बताइन् ।
मन्त्री डा राणाले विपिन अपहरमा परेको करिब नौ महिनापछि आफू मन्त्रीमा नियुक्त भएको र त्यस लगत्तै आफूले उक्त मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेको जानकारी दिइन् ।
मन्त्री डा राणाले आफूले इजरायल, इजिप्ट, इरान, कतार, संयुक्त अरब इमिरेट्स, टर्कीदेखि लिएर अन्य देशका विदेशमन्त्रीहरु एवं अधिकारीहरूसँगको भेट एवं फोन वार्ताका साथै संयुक्त राष्ट्रसङ्घदेखि अन्य अन्तर्राष्ट्रिय फोरमहरूमा पनि विपिन रिहाइको मुद्दालाई सशक्त रुपमा राख्दै आएको जानकारी दिइन् ।
सन् २०२३ अक्टोबरमा इजरायलबाट विपिन जोशी हमास समूहको अपहरणमा परेका थिए ।