आज बुबाको सम्मान स्वरूप मनाइँदै बाबुको मुख हेर्ने दिन

काठमाडौं । नेपालभरका हिन्दु धर्मावलम्बीहरूले आज बाबु को मुख हेर्ने दिन धूमधामका साथ मनाउँदै छन् ।
आजको दिन छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् भने बाबु नहुनेले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्ड दान तथा श्राद्ध गरी सिदा दिन्छन् ।
आजको दिन विशेष गरी उत्तर गया भनेर चिनिने काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्ड दान तथा सिदादान गर्नेहरूको घुइँचो छ ।
साथै, विभिन्न धार्मिक पीठ, देवालय जस्तै: रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णु पादुका तथा सुनसरीको वराहक्षेत्र लगायतका पवित्र तीर्थस्थल पुगेर स्थान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिने चलन पनि रही आएको छ ।
यसको साथै, प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राएर कुशे औँसी पनि मनाउँदै छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर यजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको पनि रहेको छ भने आजको दिनलाई थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ ।