भारत र चीन बिच लिपुलेक सीमा व्यापार खोल्न सहमति

काठमाडौं । भारत र चीनले मंगलबार द्विपक्षीय सम्बन्धलाई स्थिर बनाउन र तनाव कम गर्न व्यापक प्रयासको एक भागको रूपमा तीन तोकिएका पासहरू मार्फत सीमा व्यापार पुनः खोल्न र प्रत्यक्ष उडान सम्पर्क पुनः सुरु गर्न सहमति जनाएका छन् ।
भारतीय सञ्चार माध्यम टाइम्सअफ इन्डियाले भारतको दुई दिने भ्रमणमा रहेका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चिनियाँ विदेशमन्त्री वाङ यीको सह–अध्यक्षतामा सीमा प्रश्नमा विशेष प्रतिनिधिहरूको २४ औँ चरणको वार्तापछि यी निर्णयहरू घोषणा गरिएको उल्लेख गरेको छ ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चीनमा हुने एससीओ शिखर सम्मेलनमा भाग लिनको लागि निमन्त्रणा समेत हस्तान्तरण गरेका छन् ।
दुई देश बिच सीमापार आर्थिक गतिविधि बढाउन दुवै पक्षले तोकिएका तीन तोकिएका पासहरू – लिपुलेक, शिपकी ला र नाथु ला मार्फत व्यापार पुनः खोल्न सहमति भएको हो । दुई देशले व्यापार, लगानी प्रवाह र आदानप्रदानलाई प्रवर्द्धन गर्ने र द्विपक्षीय संवाद संयन्त्रहरू पुनः सुरु गर्ने वाचा समेत गरेका छन् ।
नेपालको भूमि लिपुलेकको प्रयोग गर्ने गरी दुई देश बिच व्यापार सहमति भइसक्दा समेत नेपाल बेखबर छ । नेपालले केही वर्षअघि मात्रै लिपुलेक, कालापानी, लिम्पियाधुरा सहितको नयाँ नक्सा प्रकाशन गरिसकेको छ ।
नेपालको उक्त कद्मलाई बेवास्ता गर्दै आएको भारतले चीनसँग यस्तो सम्झौता गरेर नेपालको भूमि प्रयोग गरेर आफ्नो व्यापार विस्तार गर्ने तयारी गरेको छ । यस सम्बन्धमा हाल सम्म नेपाल सरकारले आफ्नो तर्फबाट कुनै पनि प्रतिक्रिया जनाएको छैन ।