एनआरएनए निर्वाचन: प्रवासी नेपाली मञ्चका अध्यक्ष सञ्जय थापाद्वारा आर्थिक चलखेलको आरोपको खण्डन

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले आफू माथि लगाइएको आर्थिक चलखेलको गम्भीर आरोपको सार्वजनिक रुपमा खण्डन गरेका छन्।
गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको चुनाव प्रभावित पार्न थापाले अध्यक्षका उम्मेदवार सतेन्द्र साह सँग आर्थिक चलखेल गरेको आरोप लगाए पछि थापाले त्यसको खण्डन गर्दै प्रमाण पेश गर्न चुनौती दिएका हुन्।
नेपाल समाज टेक्सस (एनएसटी) ले आयोजना गरेको भलिबल प्रतियोगिताको प्रत्यक्ष प्रसारणको भिडियोमा थापा माथि यस्तो गम्भीर आरोप लगाइएको दुई जना बीचको वार्तालाप सुन्न सकिन्छ। यद्यपि यो अडियो को आधिकारिकता पुष्टि भएको छैन।
थापा माथि आर्थिक चलखेलको आरोप लागेको अडियो यहाँ सुन्न सकिने छ ।
एनआरएनए अमेरिकामा अहिले दुई समूहले छुट्टा छुट्टै निर्वाचन गरेका छन् । एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती समूहले जुलाईमा नै चुनाव सम्पन भएको बताउँदै आएको छ। सो समूहले विकास उप्रेतीकै अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरेको थियो। उप्रेतीको चुनावलाई एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) मा बद्री केसी समूहले मान्यता दिएको छ।
एनआरएनए अमेरिकामा अर्को समूहको निर्वाचनमा अगस्त १७ तारिख आइतबार न्यु योर्क समय बिहान दश बजे देखि मतदान हुँदै छ।
मतदाता शुरु हुनु केही समय अगाडि ओएनएफ अध्यक्ष थापाले आफूमाथि लागेको आरोपको सार्वजनिक रुपमा खण्डन गरेका हुन्।
थापाको विज्ञप्ति जस्ताको त्यस्तै
एनआरएनए एनसीसी अमेरिका लाई एकताबद्ध र एउटै मात्र निर्वाचन गराउने धेरै प्रयास र मेहनत बाबजुद पनि विधि–विधान विपरीत ढङ्गले न त सदस्यहरूको पूर्ण विवरण छ न त जुन प्रविधिबाट निर्वाचन गराउने व्यवस्था छ त्यो सबै छोडेर निर्वाचन गराउने टिमले सामूहिक आफूहरू यो निर्वाचन गराउन असमर्थ रहेको जानकारी सहित राजीनामा दिँदै दिँदै पनि निर्वाचनलाई निरन्तरता दिइएको हुँदा मेरो निर्वाचन सकिएको छ र आज हुने मतदान प्रक्रियामा सहभागी हुन सम्भव भएन ।
यसैबिच, विचार मिल्ने टिमको पक्षलाई सहयोग गर्दै आज हुने मतदानमा भाग नलिने निर्णय गरिरहँदा पनि, आफ्नै नजिकका र चिनजानका व्यक्तिहरूबाट समेत “आर्थिक चलखेलमा लागेको” भन्ने आरोप सुन्नुपर्यो ।
“आफू जस्तो हुन्छ संसार त्यस्तै देखिन्छ” भन्ने भनाइ यहाँ पनि साँचो साबित भएको देख्दा दुःख लागेको छ ।
स्वतन्त्र नेपाल सरकारमा दर्ता भएको सामाजिक संस्थाको निर्वाचनमा विना प्रमाण आरोप लगाउने, बदनाम गर्ने र समाजलाई पोलिटेड पार्ने प्रवृत्ति निकै खेदजनक छ । हामी सबै प्रवासमा मेहनत, संघर्ष र आफ्नो सीमित समय खर्चेर समुदायको एकता र हक–हितमा लाग्नुपर्नेमा, उल्टै भ्रम फैलाउने र नकारात्मक गतिविधिमा लाग्ने कुरा समाजलाई पछाडि धकेल्ने काम मात्र हो ।
यदि कसैसँग सत्य र तथ्य प्रमाण छ भने खुलेर प्रस्तुत गरौँ – त्यो नै समाजको हित हुनेछ । तर प्रमाणबिनाको बदनाम र टेलिफोन संम्वाद मार्फत आरोप लगाउँदै हौसिँदै कुरा गर्नु भनेको भविष्यमा अझै धेरै विद्वेष र विना कारण हुने बदनामीलाई जन्म दिने हो ।
अमेरिकामा आज हुन लागेको एनआरएनए एनसीसी अमेरिकाको निर्वाचनलाई लक्षित गरी मलाई “आर्थिक चलखेलमा लागेको” भन्ने आरोप लगाइरहेका व्यक्तिहरूप्रति यो मेरो जिम्मेवार प्रतिक्रिया हो ।
हामी सबैले सत्य, पारदर्शिता र इमानदारितालाई प्राथमिकता दिँदै आफ्नो समाजलाई शुद्ध र मजबुत बनाउन सकोस् भन्ने मेरो हार्दिक चाहना छ ।