क्यापिटल स्ट्राइकरले जित्यो ह्यारिसबर्ग प्रिमियर लिगको उपाधि

Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ पहिलो ह्यारिसबर्ग प्रिमियर लिग (एचपीएल) को उपाधि क्यापिटल स्ट्राइकरले जितेको छ।
पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गको लिङ्गल पार्कमा शुक्रवार भएको फाइनलमा सस्क्वाहाना टाइटन्सलाई २१ रनले हराउँदै क्यापिटल स्ट्राइकरले उपाधि जितेको हो।
क्रियामान फाउन्डेशनले चार टिमको सहभागितामा आयोजना गरेको तीन महिना लामो लिगको फाइनलमा पहिलो व्याटिङ्ग गरेको क्यापिटलले निर्धारित १५ ओभरमा ६ विकेट खर्चँदै एक सय १७ रन जोडेको थियो।
क्यापिटलका लागि सागर राईले अर्ध शतक पारी खेले । ३८ बलको सामना गरेका राईले ५० रन जोडेका थिए। यस क्रममा उनले एक छक्का र चार चौका प्रहार गरेका थिए।
अनिल न्यौपानेले पनि क्यापिटलका लागि ४६ रनको योगदान दिए। ३० बल खेलेका अनिलले एक चौका र चार छक्का प्रहार गरेका थिए।
सस्क्वाहानाका भागवत भण्डारी र सागर आचार्यले दुई विकेट लिएका थिए।
जवाफमा एक सय १८ रनको लक्ष्य पछ्याएको सस्क्वाहाना १५ ओभरमा नौ विकेट गुमाउँदा ९६ रनमा रोकियो।
सस्क्वाहानाका कप्तान खगेन धिमालले सर्वाधिक २५ रन जोडे पनि टिमलाई जिताउन सकेनन्। सस्क्वाहानाका भागवत भण्डारीले १६, अमर शर्माले २१, आनन्द साम्पाङले १२ र सागर आचार्यले ११ रन जोडेका थिए।
क्यापिटलका सागर राई बलिङमा पनि अब्बल ठहरिए। उनले तीन विकेट लिए। सागरले तीन ओभरमा १३ रन खर्चेका थिए। यस्तै अनिल न्यौपाने र सुशील खपाङ्गीले पनि दुई दुई विकेट लिए।
फाइनल खेलको म्यान अफ दी म्याच सागर राई घोषित भए। उनी म्यान अफ दि सिरिज, वेस्ट ब्याट्सम्यान र वेस्ट बलर समेत घोषित भए।
जीवनको लागि खेल्नुहोस् (#PlayForLife) भन्ने नारा सहित आयोजित लिगमा कुल ८८ खेलाडी सहभागी थिए।
‘मानसिक स्वास्थ्य जागरूकता र आत्महत्या रोकथामको लागि’ फाउन्डेशनले लिगको आयोजना गरेको हो।
‘मानसिक स्वास्थ्य चुनौतीहरू प्रायः मौनता पछाडि लुकेका हुन्छन्, र आत्महत्याको कारण धेरै बहुमूल्य जीवनहरू गुमाएका छन्। क्रिकेट मार्फत, हामी एक सुरक्षित, सहयोगी ठाउँ सिर्जना गर्दैछौं जहाँ युवाहरू जोडिन सक्छन्, आफूलाई अभिव्यक्त गर्न सक्छन् र एक अर्कामा बल पाउन सक्छन्।‘ फाउन्डेशनका अध्यक्ष तथा कार्यकारी निर्देशक भरत तिम्सिनाले लिगको उद्देश्यमा प्रस्टाउँदै भने।
जीवनको लागि खेल्नुहोस् अभियानले सबैलाई लाज बिना मद्दत खोज्न, आफ्नो संघर्षको बारेमा खुलेर बोल्न र साथीभाइ र परिवारलाई भेट्न प्रोत्साहित विश्वास फाउन्डेशनले लिएको छ।
‘मद्दत माग्नु कमजोरी होइन, यो साहस हो।‘ भन्ने विश्वास पनि फाउन्डेशनले बनाएको छ।