अमेरिका निवासी पदम शाही र उनका परिवारले बाजुराको नाटेश्वरी मन्दिरमा चढाए अहिलेसम्मकै ठुलो घण्ट

Getting your Trinity Audio player ready...
|
बाजुरा । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–७ मा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल नाटेश्वरी मन्दिरमा १ क्विन्टल (१०० केजी) तौलको ऐतिहासिक महाघण्ट चढाइएको छ।
जनैपूर्णिमाको अवसरमा सो ‘महाघण्ट’ अमेरिका निवासी पदमबहादुर शाही र उनका भाइहरू भरतबहादुर शाही तथा पारस विक्रम शाहीले संयुक्त रूपमा नाटेश्वरी देवीलाई श्रद्धापूर्वक चढाएका हुन्।
शाही परिवारले काठमाडौँका प्रसिद्ध शिल्पीमार्फत तीन महिना लगाएर विशेष गजुर सहितको कलात्मकता झल्किने यो भव्य घण्ट निर्माण गराएका थिए।
यसलाई स्थानीय बाजागाजा, पञ्चकन्या, मंग्ल्यारी र धामी–पुजारीको सहभागिता तथा लावालस्करसहित नाटेश्वरीको भण्डारघर खिरपाटाबाट स्थानीय युवाको सहयोगमा मन्दिरसम्म पुर्याइएकोथियो।
मन्दिरका पुजारी पर्वतबहादुर शाहीका अनुसार, शाही परिवारले चढाएको यो घण्ट हालसम्मकै सबैभन्दा ठुलो हो।
“मन्दिरमा रहेको घण्टी देवीको मुख्य गहना हो। यसको विशिष्ट आकार, कलात्मक निर्माण र आध्यात्मिक महत्त्वका कारण यो दर्शनार्थी तथा भक्तजनको आकर्षणको केन्द्र बन्नेछ,” उनले बताए।
हालै जीर्णोद्धार सम्पन्न गरिएको नाटेश्वरी मन्दिरमा यसअघि पनि ऐतिहासिक महत्त्वका घण्ट अर्पण गर्ने परम्परा रहँदै आएको छ। राणाकालीन प्रधानमन्त्री वीर शमशेर र स्व. रानी ऐश्वर्य राज्यलक्ष्मीदेवी शाहका हजुरबुवा जर्नेल अग्नि शमशेर जबराले पनि यस मन्दिरमा घण्ट चढाएका थिए। ती घण्टहरू अहिले पनि मन्दिरमा सुरक्षित छन्।
परापूर्वकालमा स्थानीय राजा दिपराज छत्यालले बडीमालिका मन्दिरको निर्माणपछि देविकै आज्ञा अनुसार नाटेश्वरी मन्दिर स्थापना गरेका थिए। धार्मिक परम्पराअनुसार बडीमालिका देवीलाई बहिनी र नाटेश्वरी देवीलाई दिदिका रूपमा पुज्ने चलन आजसम्म रहँदै आएको छ।