कर्णाली प्रदेशका मन्त्री शाह एथलेटिक्स संघको अध्यक्षमा निर्विरोध
काडमाडौं/ कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह नेपाल एथलेटिक्स संघको अध्यक्षमा निर्वरोध निर्वाचित भएका छन्।
काठमाडौमा बुधवार सम्पन्न साधारण सभाले शाहको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको छ।
कार्यसमितिको उपाध्यक्षमा कोमल वली, जगतसिंह धामी, शैलेन्द्र खनाल, सन्तोषकुमार ढकाल, तेजेन्द्र थापा र गजबहादुर गुरुङ रहेका छन् । आरके विष्ट (राधाकृष्ण) सचिव तथा मोहनबहादुर घले कोषाध्यक्षमा चुनिए ।
सन्जिव तुलाधर, अन्जु चौधरी, दिलबहादुर बम, नन्दु काउचा, अनिरुदैकुमार चौधरी, मोहम्मद ज्याउल हक, शिवलाल आचार्य र पद्मा चौधरी सदस्यमा चयन भए ।
सदस्यमा निर्वाचित तुलाधरलाई नवनिर्वाचित अध्यक्ष शाहले पछि कार्यसमितिको बैठकबाट अनुमोदन गर्ने गरी महासचिवमा मनोनित गरेको घोषणा गरे ।
नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत सरोजकुमार पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । त्यसअघि ताहचलस्थित ग्रान्ड होटलमा भएको साधारण सभाको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए ।














