एउटा युवा पटक पटक बेचिने बाध्य छ, प्रविधिको दुरुपयोग भएको छ : शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रविधिको दुरुपयोगले मानव बेचबिखनलाई विस्तार गर्न सहज वातावरण बनेको बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रविधिको दुरुपयोग गरेर अपराधका प्रकृतिसँगै मानव बेचबिखनका प्रकृतिहरू बदलिएको बताएका हुन् ।
संसदमा प्रस्तावमा गरिएको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक २०८१ माथि आफ्नो धारण राख्दै उनले भने, ‘प्रविधिको दुरुपयोगले अपराधका प्रकृतिहरू बदलिएका छन् । बदलिएका अपराधका प्रकृतिहरूलाई कसरी हामीले नियन्त्रण गर्ने महत्त्वपूर्ण कुरा छ । प्रविधिले मानव बेचबिखनलाई विस्तार गर्न वातावरण सहज बनेको अवस्था छ ।’
उनले वैधानिक तरिकाबाटै पनि मानव बेचबिखन भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) गर्ने विधेयकले काम गर्नुपर्ने बताए ।
उनले भने, ‘मानव तस्करी र बेचबिखन दुई तरिकाले भइरहेको छ । एउटा अवैधानिक समुद्र पार, बोर्डर पार र स्थानीयरुपमा पनि भइरहेका होलान् । वैधानिक तरिकाबाटै पनि मानव बेचबिखन भइरहेको छ । खाडी मुलुकमा पुगेका महिलाहरू एकदमै यौन शोषणमा पर्नुभएको र ठुलो दुख खेप्नु परेको छ । वैधानिकरुपमा भिजिट भिषा लगायत अन्यका रुपमा बेचिरहेका छन् । त्यसलाई यो ऐनले कसरी नियन्त्रण गर्छ हेर्न जरुरी छ ।’
उनले युवाहरू गाउँबाट सहर पस्दा नै बेचिन सुरु हुने भन्दै एउटै युवा पटक पटक बेचिने गरेको बताए ।