नेपाली कला र संस्कृतिको झल्को: हेम्पस्टेडमा एशियन अमेरिकी हेरिटेज मन्थ २०२५ भव्यताका साथ सम्पन्न

हेम्पस्टेड, न्यु योर्क/ “एशियन अमेरिकी हेरिटेज मन्थ सेलिब्रेशन २०२५” को चौथो वार्षिक संस्करण मे ३० शुक्रबार वाशिङटन स्ट्रिट हेम्पस्टेड, न्यु योर्कमा सम्पन्न भएको छ।
हेम्पस्टेड टाउन सुपरभाइजर डन क्लाभिन, टाउन बोर्ड तथा कम्युनिटी अफेयर्स विभागको संयुक्त आयोजनामा कार्यक्रम भएको हो।
एशिया महादेशका विविध समुदायहरूद्वारा आयोजित उक्त सांस्कृतिक महोत्सवमा नेपाल, बङ्गलादेश, चीन, भारत, पाकिस्तान, फिलिपिन्स, कोरिया, टर्की आठ एशियाली देशहरूले आफ्नो सांस्कृतिक धरोहर, कला, परम्परा र परम्परागत खानाको आकर्षक प्रदर्शनी प्रस्तुत गरेका थिए।
नेपाली समुदायको तर्फबाट समन्वयकर्ताको भुमिका सीसीएनसी युएसएले लिएको थियो। समाजसेवी महेश खड्कालाई हेम्पस्टेड टाउनको तर्फबाट विशेष सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा प्रिशा ढकाल, दिया छेत्री, समृद्धि बरुवाल, आयुश्मा बुढाथोकी, र त्रिशा शाहले नेपाली सांस्कृतिक नृत्य प्रस्तुत गरे, जसलाई दर्शकहरूले अत्यन्त उत्साहका साथ स्वागत गरे।
नेपाली समुदायको बाक्लो उपस्थिति रहेको कार्यक्रममा लङ आइल्याण्ड नेपाली समाजका निवर्तमान अध्यक्ष वसन्त चापागाईँ, सचिव मोहन छेत्री, सदस्य सुमन बास्तोला, डा. याम गिरि, सुजन रेग्मी, रमेश सत्यल, सानु महर्जन, सीसीएनसी युएसएका अध्यक्ष बाबुराम शर्मा, महासचिव शंकर भण्डारी, ग्लोबल पार फाउन्डेशन युएसएकी अध्यक्ष एलिजाबेथ ढकाल, एमबी फाउन्डेशनकी अध्यक्ष विनीता जिसी, धादिङ समाज अमेरिकाका अध्यक्ष टक रवाली, र टिका भक्त फाउन्डेशन की अध्यक्ष रुपा भण्डारीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै लङ आइल्याण्ड नेपाली समाजका पूर्ण अध्यक्ष तथा सीसीएनसी युएसएका सह-संस्थापक टिका राज ढकालले प्रवासमा यस्ता अवसरहरूले नेपाली भाषा, कला, संस्कृति र पहिचानलाई विश्वमाझ उजागर गर्न सहयोग पुग्ने बताए।
हेम्पस्टेड टाउन सुपरभाइजर डन क्लाभिन तथा कम्युनिटी अफेयर्स विभाग प्रमुख जहिद साहेदलाई कार्यक्रमको सफल संयोजनका लागि सहभागी आठ एशियाली देशहरूले संयुक्त रूपमा धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रममा सहभागी अधिकांश नेपालीहरू परम्परागत भेसभुसामा सजिएर सहभागी भएका थिए, जसले समुदायको एकता, संस्कृतिप्रतिको सम्मान र राष्ट्रिय पहिचानको गर्वलाई उजागर गरेको थियो।
एशियन अमेरिकी हेरिटेज मन्थको अवसरमा आयोजित यस सांस्कृतिक महोत्सवले नेपाली कला, संस्कृति र समुदायलाई गौरवका साथ प्रस्तुत गरेकामा सहभागीहरू तथा आयोजकहरूप्रति आभार प्रकट गरियो । यस्ता कार्यक्रमहरूले प्रवासमा रहेका नेपालीहरूमा उत्साह, एकता र संस्कृतिप्रतिको अभिमान थप प्रगाढ बनाउने विश्वास गरिएको छ।
