नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटनमा ‘शाम्बाला’ प्रदर्शन

वासिङ्गटन डीसी । अमेरिकाको मेरिल्याण्डमा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ प्रदर्शन हुने चलचित्रहरूको सूची शुक्रवार सार्वजनिक गरिएको छ ।
गत वर्ष बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धा रहेको मिन बहादुर भामद्वारा निर्देशित “शाम्बाला”, गत वर्षकै भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको दीपक रौनियार द्वारा निर्देशित “पूजा सर (राजागंज)” र अमेरिकाको नेपाली डायस्पोरामा बनेको विनोद पौडेलद्वारा निर्देशित “भुठान:द वर्ल्ड हापिस्ट म्यान ” लगायतका चलचित्र महोत्सवमा प्रदर्शन हुनेछन् ।
यही जुन महिनाको २६ देखि २९ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, मेक्सिको, साउदी लगायत १५ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३१ चलचित्रहरू प्रदर्शन हुनेछन् । महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा हुनेछ ।
चार दिनसम्म चल्ने महोत्सवका चलचित्रहरू भने एएफआई सिल्भर थिएटरका साथै ग्रिन बेल्ट सिनेमा थिएटरमा समेत प्रदर्शन हुने जनाइएको छ । महोत्सवमा प्रदर्शनका लागि आवेदन परेका मध्येबाट अमेरिका, नेपाल र दक्षिण अफ्रिकाका फिल्मकर्मीहरूको छनोट समितिले चलचित्रहरू छनौट गरेको हो ।
चलचित्र “शाम्बाला” को प्रदर्शनबाट एएफआई सिल्भर थिएटर जुन २६ तारिख बिहीबार महोत्सवको उद्घाटन हुनेछ । महोत्सवको समापन “पूजा सर (राजागंज)” को प्रदर्शनसँगै जुन २९ तारिख आइतबार सोही स्थानमा हुने छ । चलचित्र “भुठान:द वर्ल्ड हापिस्ट म्यान” को पनि रेड कार्पेट सहित निर्देशक, कलाकार, निर्माता तथा निर्माण टोलीका सदस्यहरूको विशेष प्रदर्शन हुनेछ ।
ग्लोबल पिस फिल्म फेस्टिभल, फ्लोरिडासँगको सहकार्यमा यो वर्ष अमेरिकी निर्देशक स्यामुएल जर्जको “लिथियम राइजिङ्: द रेस फोर क्रिटिकल मिनिरल” र निर्देशक ओल्स बर्लान्दिनोको “द वार ट्रायल” गरी दुई चलचित्र प्रदर्शन हुनेछन् । सुबिना श्रेष्ठ निर्देशित अन्तर्राष्ट्रिय महोत्सवहरूमा प्रशंसा भएको वृत्तचित्र “देवी” र अन्तर्राष्ट्रिय चर्चित निर्देशक फराह कस्सेम निर्देशित वृत्तचित्र “वि आर इनसाइड” पनि महोत्सवमा प्रदर्शन हुनेछन् । प्रिन्स जर्ज काउन्टीका स्थानीय निर्देशक चका बलामानीको चलचित्र “अ क्रिष्टमस बोनस” लगायतका चलचित्रहरू डीएमभी-क्लोजअप अन्तर्गत प्रदर्शन हुनेछन् ।
प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । पुरस्कार छनौटका लागि निर्णायक मण्डलको नाम भने केही दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ । महोत्सव अवधिमा चलचित्र र संस्कृति,’प्यानल’ छलफलका साथै र चलचित्र निर्माणबारे ‘मास्टर क्लास’ पनि हुनेछ । मेरिल्याण्ड राज्यको पार्क्स तथा योजना आयोगको सहयोगमा उक्त छलफल हुने जनाइएको छ ।
“हामीले यो वर्ष पनि यस्ता उत्कृष्ट चलचित्रहरू महोत्सवमा ल्याउन पाउँदा हामी अत्यन्त खुसी छौँ। यी चलचित्रहरूले विभिन्न देशका मानव संस्कृति, संघर्ष, सहअस्तित्व तथा खुसीको कथाहरूको प्रतिनिधित्व गर्दछन् । यो महोत्सव तपाई हामी सबैको हो,” महोत्सवका निर्देशक युवाकर राजकर्णिकार भन्छन् ।