अमेरिकाको केप कडमा मनाइयो साकेला उभौली

Getting your Trinity Audio player ready...
|
म्यासाचुसेट्स, अमेरिका/ अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडमा उभौली पर्व सामूहिक रुपमा मनाइएको छ।
केप कड नेपाली समाजको आयोजनामा किरात वर्ष ५०८५ को साकेला-उभौली पर्व म्यासाचुसेट्स राज्यको केप कड्को सेन्टरभिल शहरमा अवस्थित फ्रेटर्नल लजको प्राङ्गणमा मे २४ तारिख मनाइएको हो।
“साकेला- उभौली पूजा” साथै “चण्डी नाच सहित पर्व मनाइएको हो। नाकछोगं बिष्णु राई, सिली मोपा (सीताराम राई), सिली ङोमा (अर्पणा राई) र ढोले (दिल बारेलुङ्ग) बाट उभौली पूजा र चण्डी नाचको शुभारम्भ गरेका थिए।
प्रतिकूल मौसमका कारण पूजा स्थल परिवर्तन गरी हल भित्र गरिएको थियो।
केप कड नेपाली समाजका अध्यक्ष केबी राईको सभापतित्वमा पर्व कार्यक्रम भएको थियो। केप कड नेपाली समाजको महासचिव इच्छा खड्का र सचिव सरस्वती खनालले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका थिए।
समाजका वरिष्ठ उपाध्यक्ष विष्णु मान प्रधानले स्वागत मन्तव्य दिएका थिए। त्यसैगरि समाजका सह सचिव तथा साकेला – उभौली कार्यक्रमका मुख्य संयोजक हर्कुलस कन्दगंवाले उपस्थित सम्पूर्णमा साकेला- उभौलीको हार्दिक शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमका सांस्कृतिक संयोजक सिताराम राईले उभौली पर्वको बारेमा आफ्नो मन्तव्य राख्दै सबैलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका थिए।
त्यसैगरि कार्यक्रममा आमन्त्रित अतिथि, युआरओए न्यु इग्ल्याण्डका च्याप्टर अध्यक्ष कर्ण राईले सबै नेपाली समुदायहरूको सद्भावपूर्ण सक्रिय सहभागिता रहेको सांस्कृतिक पर्वको अवसरमा सहभागी भई शुभकामना आदान-प्रदान गर्ने अवसर दिएकोमा आयोजक संस्थालाई धन्यवाद दिएका थिए।
उनले जुन १ तारिख साकेलाथन, ब्रिमफिल्ड, म्यासाचुसेट्स हुन गैरहेको बृहत् साकेला-उभौली कार्यक्रममा उपस्थित हुनको लागि निमन्त्रणा दिए।
युकेआरओएका पूर्व अध्यक्ष तथा नाकछोगं बिष्णु राईले साकेला-उभौली पर्वको ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्वको बारेमा प्रस्टाएका थिए। उनले केप कड नेपाली समाजले गत वर्षबाट सबै नेपाली समुदायहरूलाई एकजुट गराएर साकेला-उभौली कार्यक्रमको आयोजनामा धन्यवाद दिए।
‘यो पर्व किराँत राईहरूको मात्र नभएर सबै नेपालीहरूको साझा राष्ट्रिय सांस्कृतिक पर्व हो भन्ने कुराको राम्रो उदाहरण दिएर एउटा नयाँ इतिहास रचेको र यस वर्ष पनि त्यसलाई निरन्तरता दिएकोमा समाजको कार्यको खुलेर प्रशंसा गर्छु।‘ राईले भने।
युकेआरओएका कानुनी सल्लाहकार सुरेश राई, वरिष्ठ उपाध्यक्ष तथा न्यू ह्याइपसार नेपाली समाजको सचिव शेखर राई लगायतले साकेला उभौलीको शुभ कामना दिएका थिए।