सुरेशलाई बधाई

काठमाडौं / राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपका कास्य पदक विजेता सुरेश चुनारालाई बुधबार बधाई दिएका छन् ।
त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा सुरेशलाई स्वागत गर्नुका साथै सदस्य–सचिव घिसिङले सफलताका लागि बधाई दिँदै आगामी यात्राका लागि शुभकामना दिए ।
भारतको नयाँ दिल्लीमा मे २१ देखि २६ तारिखसम्म भएको प्रतियोगितामा सुरेशसहित नेपालबाट ३ पुरुष खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सुजित यादव र राम किशोर यादव पदकविहीन बने ।
कार्यक्रममा राखेप सदस्य समेत रहनु भएका नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी, महासचिव खगेन्द्र बस्नेत, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, कुस्तीका मुख्य प्रशिक्षक मुम्ताज अली इद्रिसीलगायतको उपस्थिति रहेको थियो ।