केन्टकीले भुट्नीज नेपाली तेक्वान्दोलाई जुराएको संयोग

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ नेपालीमा एउटा उखान छ, एक तीर दुई शिकार। अमेरिकामा रहेका नेपाली भाषी भुटानी तेक्वान्दोकर्मीका लागि गत शनिवार त्यस्तै भयो। केन्टकी राज्यको लुइसभिलमा सम्पन्न ‘पहिलो हिमालयन इन्टर स्कुल तेक्वान्दो च्याम्पियनसिप’ ले यस्तो अवसर जुरायो।
अमेरिकामा पेन्सिल्भेनिया, ओहायो र केन्टकी राज्यमा गरी नेपाली भाषी भुटानी समुदायका एक दर्जन बढी तेक्वान्दो स्कुल छन्। स्कुल खोल्ने क्रम बढे सँगै आपसमा प्रतियोगिताहरू पनि थपिँदै आएका छन्।
पेन्सिल्भेनियाको ह्यारिसबर्गमा हिमालयन तेक्वान्दो स्कूलले चार र ग्लोबल तेक्वान्दो स्कूलले दुई पटक प्रतियोगिता आयोजना गरिसकेका छन्। ह्यारिसबर्ग बाहिर भने नेपाली भाषी भुटानी समुदायमा तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने आँट केन्टकीकी प्रशिक्षक कल्पना तिवारीले गरिन्।
उनकै आँटले केन्टकीमा मे २४ तारिख ‘पहिलो हिमालयन इन्टर स्कुल च्याम्पियनसिप’ सम्पन्न भयो। प्रशिक्षक कल्पनाका अनुसार च्याम्पियनसिपमा तीन राज्यका नौ स्कुलका एक सय ५० खेलाडीले सहभागिता जनाएका थिए।

सनशाइन तेक्वान्दो ओहायो, हिमालयन तेक्वान्दो ह्यारिसबर्ग पेन्सिलभेनिया, ग्लोबल तेक्वान्दो पेन्सिलभेनिया, हिमालयन तेक्वान्दो लुइसभिल केन्टकी, युनाइटेड एभरेस्ट तेक्वान्दो पेन्सिलभेनिया, हिङमाङ तेक्वान्दो पेन्सिलभेनिया, हिमालयन तेक्वान्दो सिपिङ्बर्ग पेन्सिलभेनिया, किस्टोन तेक्वान्दो पेन्सिलभेनिया र थर्ड आइ तेक्वान्दो केन्टकीले च्याम्पियनसिपमा आ आफ्नो कौशल प्रस्तुत गरे।
‘ब्रेकिङ्ग, पुम्से र स्पाइरिङमा हामीले प्रतिस्पर्धा गराएका थियौ, एउटा खेलाडीलाई दुई स्वर्णका लागि प्रतिस्पर्धा गर्ने अवसर दिएको थियो, एक सय ९९ पदकका लागि खेलाडीले प्रयास गरे।‘प्रशिक्षक कल्पनाले भनिन्।
उनले पहिलो पटक भएकाले टिम च्याम्पियन घोषणा नगरिएको बताइन्। ‘सहभागीमा सबै भन्दा धेरै खेलाडी हाम्रो आफ्नै स्कुलबाट थिए, धेरै सहभागी भए पछि धेरै पदक जित्नु स्वाभाविक नै भयो, त्यसै भएर ‘च्याम्पियनसिप ट्रफि’ राखेनौ ।‘ कल्पनाले भनिन्।

हिमालयन तेक्वान्दो लुइसभिल केन्टकी सन् २०२२ मा स्थापना भएको हो। स्थापनाको तीन वर्षमा नौ स्कुललाई निम्ता दिएर च्याम्पियन गराउनु कम चुनौती होइन।
स्कुलकी सञ्चालिका तथा प्रशिक्षक कल्पना तिवारी च्याम्पियनसिप आफूले सोचे भन्दा राम्रो गरी सम्पन्न भएको बत्ताउँछिन्।
‘हामीले पहिलो पटक प्रतियोगिता आयोजना गरेका हौ, सुधारका लागि थुप्रै ठाउँ छन्, तर सकिँदो रहेछ भन्ने भयो।’ प्रशिक्षक कल्पनाले थपिन, ‘त्यो भन्दा ठूलो कुरा हाम्रो समुदायका सबै तेक्वान्दो स्कूलकाबाट सहभागिता जनाउनु भयो, खुसी लाग्यो, हामी एक ठाँउमा हुनु ठूलो कुरा भयो।‘
हुन पनि अमेरिकामा रहेका नेपाली भाषी भुटानी तेक्वान्दो कर्मी पछिल्ला तीन वर्ष देखि एउटै म्याटमा देखिन छोडेका थिए । उनीहरूमा समस्या यति सम्म बढेको छ की आगामी सेप्टेम्बरमा एकै दिन ह्यारिसबर्गमा दुई ठाउँमा च्याम्पियनसिपको घोषणा भएका छन्।

आगामी सेप्टेम्बर १३ तारिख हिमालयन तेक्वान्दो ह्यारिसबर्गको आयोजनामा ‘दोस्रो हिमालयन ओपन तेक्वान्दो च्याम्पियनसिप र युनाइटेड एभरेष्ट तेक्वान्दो स्कूलको आयोजनमा ह्यारिसबर्ग ओपन च्याम्पियनसिप घोषणा गरिएका छन्।
सन् २०२२ मा ह्यारिसबर्गमा सम्पन्न ‘पहिलो हिमालयन ओपन तेक्वान्दो च्याम्पियनसिप’ पछि अमेरिकामा रहेका सबै नेपाली भाषी भुटानीले सञ्चालन गरेका तेक्वान्दो स्कुलका खेलाडीले एउटै प्रतियोगिता खेलेको केन्टकीमा पहिलो अवसर हो।
‘मेरो उद्देश्य नै त्यही थियो, हामी एकजुट हुनु पर्छ एकले अर्कोलाई सहयोग गर्दै जानु पर्छ भन्ने थियो।’ प्रशिक्षक कल्पनाले भनिन, ‘मलाई सबैले सहयोग गर्नु भयो एकै ठाउँमा आउनु भयो खुसी छु। ‘
कल्पनाले अब एक अर्कामा सहयोग गर्दै जानु पर्ने बताइन।
पेन्सिल्भेनियामा नेपाली भाषीमा पहिलो तेक्वान्दो स्कुल हिमालयन तेक्वान्दो ह्यारिसबर्ग सञ्चालन गर्ने चौथो डान प्राप्त मास्टर नकुल शर्माले केन्टकीले राम्रो सन्देश दिएको बताए।
‘सबै जना एकै ठाउँमा हुनु राम्रो हो। ‘केन्टकीमा सम्पन्न प्रतियोगिताका डाइरेक्टर समेत रहेका मास्टर शर्माले भने ‘मिलेर जाँदा राम्रो हो भन्ने सन्देश पनि दियो, खुसी लाग्यो, हुनु पर्ने यही हो, हामी मिल्यौ भने अरूले खेल्न ठाउँ पाउँदैन।‘
तेक्वान्दो प्रशिक्षक प्रकाश ढुङ्गानाले एक महिलाले पहिलो पटक च्याम्पियनसिप आयोजना गर्दै गर्दा त्यसलाई हौसला दिन र सहयोग गर्न आफू केन्टकी पुगेको बताए।
‘एक महिलाले पहिलो पटक आयोजना गरेको हौसला दिनु पर्छ भन्ने भयो।‘ग्लोबल तेक्वान्दो ह्यारिसबर्गका सञ्चालन तथा प्रशिक्षक ढुङ्गानाले भने, ‘मैले सबैलाई सहयोग गर्ने नै हो।‘
ढुङ्गानाले सबै जना सबै एकै ठाउँमा आउनु राम्रो भएको बताए। ‘यसले एउटा म्यासेज दिएको छ। मिलेरै जानु पर्छ भन्ने । खुसी लागेको छ।‘ समाज टाइम्स सँगको कुराकानीमा ढुङ्गानाले भने।
अमेरिकामा नेपाली भाषी भुटानी समुदायमा सबै भन्दा उपल्लो पाँचौ डान प्राप्त मास्टर कौशिल्या खनालले पनि भुटानी मास्टरहरू पुन एकै ठाउँमा देखिनु राम्रो भएको बताइन्।
‘यो राम्रो भएको छ। भुटानी समुदायका मास्टर सबै एक ठाउँमा हुनु राम्रो हो। भोली जसले गर्दा पनि यस्तो हुनु पर्छ।‘ ओहायो निवासी मास्टर कौशिल्याले भनिन्।
उनले ह्यारिसबर्गमा रहेका नेपाली भाषी भुटानी तेक्वान्दोकर्मीले एकै दिनमा दुई फरक ठाउँमा प्रतियोगिता राख्नुलाई घटनाको रुपमा लिनु पर्ने बताइन्।
कौशिल्याले दुई स्कुल आफसमा जुधेको भन्नेर व्याख्या गर्न नहुने तर्क पनि गरिन् ।
‘उहाँहरू जुधेको जस्तो देखिए पनि त्यो जानाजान भएको होइन होला, यो एउटा घटना हो जस्तो लाग्छ।‘कौशिल्याले भनिन्, ‘दुवै जनाले आश्चर्य व्यक्त गर्नु भएको छ, मिलाउन पर्छ । एउटै दिन पार्न हुँदैन।‘
पेन्सिल्भेनियाको ह्यारिसबर्गमा युनाइटेड एभरेष्ट तेक्वान्दो स्कुलकी सञ्चालिका तथा प्रशिक्षक विनिता पुरी राईले अर्की प्रशिक्षक कल्पना तिवारीलाई सहयोग गर्न आफू केन्टकी पुगेको बताइन।
‘च्याम्पियनसिप राम्रो भयो, सफल भयो, पहिलो पटक आयोजना भएको थियो, त्यसलाई सफल बनाउन म गएको हुँ। ‘विनीताले भनिन्।
उनले ह्यारिसबर्गका कुरा नजोड्न पनि आग्रह गरिन्।
‘कल्पना दिदीलाई सपोर्ट गर्न गएकी हुँ, गेमलाई सफल बनाउन, यताको कुरा नजोडौँ, फाटेका मन जोडिन गएको होइन। ‘विनीताले भनिन्, ‘यताका समस्या आ आफ्नै ठाउँमा छ।‘
पछिल्ला केही वर्ष देखि नेपाली भाषी भुटानी तेक्वान्दोलाई नजिकबाट निहाल्दै आएका र च्याम्पियनसिपका लागि केन्टकी समेत पुगेका साहित्यकार शेखर कोइराला भुटानी समुदायका तेक्वान्दो मास्टरहरू यस पटक एकै ठाउँमा भेला हुनु राम्रो संयोग पनि भएको बत्ताउँछन्।
‘यसले तेक्वान्दोलाई फाइदा हुने काम चैँ भएको हो, यसरी मिलेर जाने हो भने नेपाली भाषी भुटानी समुदायलाई पनि हितको काम गर्छ।‘कोइरालाले भने, ‘छुटेको परिवार पुनर्मिलन पनि हो।‘
‘आपसमा मनमुटाब हुँदा हुँदै पनि एक ठाउँमा बस्यौ भने सामाजिक हित हुने रहेछ, जुटेर अगाडि बढ्न सक्छौ भन्ने उदाहरण पनि हो।‘उनले भने, अब नेपाली भाषी भुटानी प्रशिक्षकहरूले मात्र पनि च्याम्पियनसिप आयोजना गर्न सक्छन्, यो देखिएको छ, यसले हाम्रो समुदायलाई फाइदा नै हुन्छ। समुदायको अनुरोध, आग्रह र आवश्यकता पनि यही हो । ‘