आलो पालो नेतृत्वमा कांग्रेस !

दशकौँ देखि राष्ट्रिय राजनीतिको मियोको भूमिकामा रहेको कांग्रेस पार्टी आज अन्योलको भुमरीमा फसेको छ। के गर्ने के नगर्ने दोधारमा परेको छ। गणतन्त्र भित्र गणतन्त्रीय संस्कार भेटिँदैन । न्याय र समानताका धारहरू मेटिँदै गए। भ्रष्टाचार मौलाउँदै गयो। एक पार्टीले अर्को पार्टीलाई दोष लगाउँदा लगाउँदै समय बितेको पत्तै भएन। विकासका कामहरू लगभग शून्य जस्तै छन्। आर्थिक स्रोतको जोहो गर्न सकेको अवस्था छैन।
सरकारी संयन्त्रलाई परिचालन गर्न सकेको अवस्था छैन। राज्यका निकायगत अङ्गहरूलाई मात्र पाल्न पनि रकमको जोहो गर्नु पर्ने अवस्था छ। राजश्व वृद्धिदरमा गिरावट आएको छ। आयात धान्न सक्ने अवस्था पनि कमजोर बन्दै गइरहेको देखिन्छ। समग्रमा देश वैदेशिक रेमिटेन्सले धानिरहेको छ। सरकार यसैमा गर्व गरिरहेको छ। जुन स्रोत अस्थायी हो भन्दा अतियूक्ति नहोला।
यस्तो अवस्थामा कांग्रेसको भूमिका के हुने ? के गरिरहेको छ कांग्रेस ? अहिले प्रश्न उठिरहेको छ। सुशासनको बारेमा बर्षौ वर्ष देखि कुरा उठिरहेका छन्। विभिन्न विषयका र समयका भ्रष्टाचारका आरोपहरू खेपिरहनु परेको अवस्था छ। हामीले गरेका छैनौ र गर्दैनौ भन्न सकिरहेको छैन। किन मौन छ कांग्रेस ? सत्य तथ्य बाहिर ल्याउँदा जनस्तरबाट लगाइएको आरोपमा निसासिएर बस्नु पर्ने थिएन होला।
जन आक्रोश केही हद सम्म कम भएर जान्थ्यो होला। त्यसैले कांग्रेसले आफ्नो गल्ती कमजोरीलाई जन समक्ष ल्याउन ढिला गर्न हुँदैन। गल्ती कम्जोरीलाई बाहिर ल्याउँदा पर्ने असरले कांग्रेसमा शुद्धीकरण ल्याउँछ र कांग्रेसले नयाँ मोड लिन सक्छ। सामाजिक आर्थिक र राजनैतिक सोचमा देखिएको असरल्ल पन सच्याउनु जरुरी छ। दलीय संस्कारलाई जोगाउँदै संघीय गणतन्त्रलाई अझ उन्नत बनाउनु जरुरी छ। विधिको शासन स्थापित गर्न, भ्रष्टाचारमा शुन्यसहनसिलता कायम राख्न, गुणस्तरीय विकास गर्न र जनता प्रतिको दायित्व बोध गर्न सक्ने परिपाटी निर्माण गर्न तदनुरूप कार्य गर्न कांग्रेसले नेतृत्व गर्नै पर्छ। नत्र कठोर इतिहास लेखिन सक्छ।
देशमा बढेको शासकीय बेथितिले जन आक्रोश बढिरहेको छ। जनआक्रोशका विषयहरू फरक फरक होलान् तर सबै सरकार र पार्टीहरू तिरै सोझिएका छन्। चाहे जातीय नाममा होस या वर्गीय नाममा ,पेशागत नाममा होस या राजनीतिका नाममा सबैले सडक मात्र निकासको माध्यम भनेर बुझिरहेका छन्। त्यो बुझाइलाई गलत प्रमाणित गर्न सक्यौ भने मात्र व्यवस्थाको निरन्तरता र पार्टीहरू प्रतिको आक्रोशको व्यवस्थापन हुन सक्छ। नत्र कठिन परिस्थितिको सामना गर्नु पर्ने हुन्छ। मुलुक यसै पनि गरिबिको चपेटामा छ। व्यापार व्यवसायमा मन्दी देखिएको छ।
जनऋणको भार बढ्दै गएको छ। वैदेशिक ऋण तिर्न पनि कठिन हुने स्थितिमा सरकार पुगेको छ। यस्तो अवस्थामा कांग्रेस के हेरेर बसेको छ? केवल प्रधान मन्त्री पदको आलोपालोले मात्र देश बन्ने भएको भए नेपाल आज दक्षिण एसियाको उन्नत मुलुक हुन्थ्यो होला।
व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रति जन आस्था कम हुँदै गइरहेको छ। जनता निरास छन्। यसो हुनु भनेको व्यवस्था असफल हुनु हो। यस्तो परिस्थितिबाट देसलाई जोगाउन सबै राजनैतिक दलको सकारात्मक भूमिका जरुरी छ। त्यसमा पनि कांग्रेसको भूमिका अनिवार्य हुनु पर्छ। बहुदलीय संस्कार परिपाटी अङ्गाल्दै आएको कांग्रेसले देश, जनता र राजनीतिको त्रिकोणात्मक सन्तुलन मिलाएर अगाडि बढ्नु पर्छ।
यो भूमिकामा कांग्रेस सशक्त रूपमा अगाडि आउनु पर्छ। यसका लागि कांग्रेसले कांग्रेस भित्र शुद्धीकरण र नेतृत्व हस्तान्तरणको नीति जतिसक्दो छिटो अवलम्बन गर्नु पर्छ। नत्र जनआक्रोशको चपेटामा पार्टीहरू त पर्छन् नै व्यवस्था नै जनआक्रोशको चपेटामा पर्न सक्छ। सरकारको होस वा पार्टीको अहिलेको नेतृत्व प्रति जनता सन्तुष्ट छैनन्। आलोपालोको संस्कारले आगोमा घ्यू थपे जस्तै जन आक्रोश बढ्न सक्छ।आलोपालोबाट आउने नेतृत्वमा जन विश्वास छैन। त्यसैले जनविश्वास आर्जन गर्न पनि अब आलोपालो राजनीति होइन पुस्तान्तरण तर्फ लागौँ। समयमा नै मुलुकले योग्य नेतृत्व पायो भने जन आक्रोश होइन जन आस्था बढेर आउन सक्छ। अब केही गरौँ ढिलो नगरौँ।
संघीय गणतन्त्र जोगाउने नाममा दलीय संस्कार लाई समाप्त पारेका छौ। सैद्धान्तिक आधार र दृष्टिकोण विपरीत भ्यालु निर्धारण गर्न खोजिरहेका छौ त्यो गलत भइरहेको छ। अब पनि नसोच्ने हो भने गलत कामले प्रश्रय पाइनै रहने हो भने मुलुक र व्यवस्था अरू दलदलमा फस्दै जाने छ। अनि “अगि राँडी मानिन पछि राँडी जानिन ,बाघ लाग्यो घिच्च्याउन राँडी लागि चिच्च्याउन” भन्ने नेपाली उखान यिनै पार्टी र पार्टी नेतृत्वलाई चरितार्थ हुनेछ। अस्तु।
कमल खनाल
तनहुँ
२०८२/०२/०६