सफोक काउन्टीमा १६औँ एशियन अमेरिकी र प्यासिफिक आइल्याण्डर विरासत महिना उत्सव सम्पन्न

न्यु योर्क/ कम्याक स्थित सफोक वाई जेसीसीमा आइतबार विविध सांस्कृतिक रंग, संगीत र गौरवपूर्ण वातावरणबिच १६औँ वार्षिक एशियन अमेरिकी र प्यासिफिक आइल्याण्डर विरासत महिना “एक विश्व, अनेक संस्कृति” भन्ने मूल नाराका साथ भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम सफोक काउन्टी कार्यकारी एडवर्ड पी. रोमेइन तथा सफोक काउन्टी एशियन अमेरिकी सल्लाहकार बोर्डको संयुक्त आयोजनामा भएको हो।
कार्यक्रमको शुभारम्भ बहु सांस्कृतिक मामिला तथा सामुदायिक संलग्नता विभागकी कार्यकारी निर्देशक लेस इओननिडिसले स्वागत मन्तव्य राख्नु भयो। त्यसपछि स्टोनी ब्रुक कोरसले राष्ट्रिय गान प्रस्तुत गरेर वातावरणलाई राष्ट्रभक्ति पूर्ण बनायो। डा. यान यु, एशियन अमेरिकी सल्लाहकार बोर्डका सदस्यले प्रमुख अतिथिहरूलाई सम्मानित गरे।
मुख्य वक्ताको रूपमा सफोक काउन्टी कार्यकारी एडवर्ड पी. रोमेइनले मन्तव्य राख्दै एशियन अमेरिकी र प्यासिफिक आइल्याण्डर समुदायको योगदानको प्रशंसा गरे। सफोक काउन्टी डिपुटी काउन्टी एक्जेक्युटिभ फार हेल्थ, ह्यूमन सर्भिसेज एन्ड एजुकेसनले पनि समावेशिता र सांस्कृतिक विविधताप्रति प्रतिबद्धताको सन्देश दिए।
कार्यक्रममा बङ्गलादेश, कोरिया, नेपाल, भियतनाम, टर्की, फिलिपिन्स र भारतका सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिएका थिए। हरेक देशले आफ्नो संस्कृति नृत्य, पोशाक र गीतमार्फत प्रस्तुत गर्दै विविधताको सौन्दर्य दर्साए।
नेपालबाट पृशा ढकाल, दिया छेत्री,समृद्धि बरुवाल, र त्रिशा शाहले नेपाली गीतमा नृत्य प्रस्तुत गर्दै दर्शकहरूको मन जित्न सफल भए। उनीहरूको प्रस्तुति नेपालकै सांस्कृतिक पहिचानको उत्कृष्ट उदाहरण बन्यो।

नेपाल को तर्फबाट कार्यक्रम सफल बनाउन सफोक काउन्टी एशियन अमेरिकी सल्लाहकार बोर्डकी सचिव कल्पना थापा, ग्लोबल पार फाउन्डेसन संयुक्त राज्य अमेरिकाकी अध्यक्ष एलिजाबेथ ढकाल, र एमबी फाउन्डेसनकी अध्यक्ष विनीता जिसी नेपाली समुदायका अगुवा अर्जुन कुमार कार्कीजस्ता समाजसेवीहरूको महत्त्वपूर्ण भूमिका रह्यो।
१६औँ एशियन अमेरिकी र प्यासिफिक आइल्याण्डर विरासत महिना उत्सव केवल सांस्कृतिक कार्यक्रम मात्र थिएन, यो विभिन्न पृष्ठभूमिबाट आएका हामी सबैलाई एउटै समुदायको रूपमा एकत्रित गराउने प्रेरणादायी अवसर थियो। विविधता भित्र एकता र सहकार्यको भावना जगाउने यस्ता कार्यक्रमहरू सफोक काउन्टीको विशेषता हुन्।
