अन्तर्राष्ट्रिय मिडिया समिट २०२५ : जलवायु परिवर्तन र मिडिया इस्यूमा केन्द्रित

सुरेश सुवेदी
ललितपुर / जलवायु परिवर्तनको विषयलाई सङ्कटको रुपमा उल्लेख गरेको छ । ‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकट’ का बारेमा चरणबद्ध छलफलका साथ लोमान्थाङ घोषणापत्र जारी गर्दै सम्पन्न भयो । नेपाल प्रेस युनियनले आयोजना गरेको अन्तर्राष्ट्रिय मिडिया सम्मेलन – २०२५ ले उक्त अवसरमा मिडियाका विषयमा पनि बहस छलफल गरेको छ । एक दर्जन विदेशी र सय भन्दा बढी नेपाली पत्रकारहरूको सहभागितासहित समिट सकिएको छ ।
यही वैशाख २७ गते काठमाडौँबाट सुरु भएको मिडिया समिट अर्थात् मिडिया सम्मेलन पोखरा, पर्वत, म्याग्दी, जोमसोम हुँदै लोमान्थाङमा पुगेर समापन भएको हो । लोकतन्त्रको सुदृढीकरण, प्रेस स्वतन्त्रताको रक्षा र जलवायु सङ्कटका लागि जुध्न सम्मेलनले सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
अन्तर्राष्ट्रिय पत्रकार महासंघ आईएफजेसँगको सहकार्यमा गरिएको मिडिया सम्मेलनमा नेपालका सहित भारत, भुटान, बङ्गलादेश, श्रीलंका, बुलगेरिया लगायत देशका पत्रकारको सहभागिता रहेको थियो । सम्मेलनमा अन्तर्राष्ट्रिय पत्रकार महासंघकी उपाध्यक्ष सबिना इन्द्रजीत सहित विभिन्न मुलुकका पत्रकारहरू, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरू हरिहर विरही, तारानाथ दाहाल, धर्मेन्द्र झा, पूर्व कार्यवाहक अध्यक्ष बाला अधिकारी लगायत महासंघको विभिन्न जिम्मेवारीमा रहेका पत्रकारहरू सहभागी थिए ।
पहिलो दिन वैशाख २७

उपराष्ट्रपति रामसहाय यादवले ललितपुरमा वैशाख २७ गते उद्घाटन गरेका थिए । लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको अवसरमा फरक फरक पाँच वटा सामूहिक छलफल भएका थिए । पहिलो दिन विश्लेषक हरि अधिकारीले सच्चार मन्त्री पृथ्वी सुब्बा गुरु सहित अन्य पूर्वमन्त्रीहरु सँग संवाद गरेका थिए । राजनीतिक दल, लोकतन्त्र नागरिक समाज र पत्रकारिता को टाढा को नजिक शीर्षकमा छलफल गरिएको थियो ।

यसै गरी, नेपाल प्रेस युनियनका पूर्व अध्यक्षहरू रमेश तुफान र कुलचन्द्र वाग्ले, अग्रज पत्रकार तेजप्रकाश पण्डित, न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ र प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुली, खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल, वरिष्ठ पत्रकार हरि बहादुर थापा, डा. जगत् नेपाल, अकोर्याबका पूर्व अध्यक्ष किशोर जङ्ग थापा लगायत नेपाल प्रेस युनियनका केन्द्र, विभिन्न प्रदेश र जिल्लाका पदाधिकारी एवम् अन्यको सहभागिता रहेको युनियनका गण्डकी प्रदेश अध्यक्ष टङ्क अधिकारी लगायतका थिए ।
बढ्दो जन असन्तोष, सङ्घीयतालाई कमजोर तुल्याउने प्रयास र कुशासनजस्ता समस्याबाट लोकतन्त्रमाथि खतरा बढिरहेको सन्दर्भमा राजनीतिक दलहरू र नागरिक समाजबिच पारस्परिक सहकार्य र संवादलाई लोकतन्त्रको मजबुतीका लागि अपरिहार्य भएकोमा वक्ताहरूले जोड दिएका थिए ।
दोस्रो दिन

पोखरामा विभिन्न तीनवटा विषयमा अलग अलग सेसन सञ्चालन गरिएको थियो । सम्मेलन अन्तर्गत ‘जलवायु संकट र पत्रकारिता’ शीर्षकमा पहिलो सत्रमा छलफल भएको थियो । दोस्रो सत्रमा ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ र तेस्रो सत्रमा ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा छलफल भएको थियो ।
छलफलका साथै पत्रकारहरूले पोखराका पर्यटकीय स्थलहरूको अवलोकन गरेका थिए ।
तेश्रो दिन
पोखराको कार्यक्रम सकेर मुस्ताङ तर्फ लागेका मिडिया सम्मेलनका सहभागीहरूलाई कास्कीको अन्नपूर्ण गाउँपालिकाले नाउ डाँडामा पन्चे बाजा तथा फूल माला सहित स्वागत गरेको थियो । त्यस अवसरमा अन्नपूर्ण गाउँपालिकाका प्रमुख बिष्णुबहादुर केसी र प्रमुख प्रशासकीय अधिकृत बिष्णु पोखरेल,प्रेस युनियनका अध्यक्ष शिव लम्साल, अन्तर्राष्ट्रिय पत्रकार महासंघका उपाध्यक्ष सबिना इन्द्रजीत लगायतले आआफ्नो भनाई राखेका थिए । अन्नपूर्ण गाउँपालिका पछि मिडिया सम्मेलनका सहभागीहरू पर्वतको जलजला गाउँपालिकाका प्रतिनिधिहरूसँग पनि केही समय छलफलमा जुटेका थिए।
चौथो दिन
सम्मेलनको काममा मुस्ताङको जोमसोममा स्थानीय सर्वसाधारण र जनप्रतिनिधिहरूसँग जलवायु सङ्कटका बारेमा मिडिया सम्मेलनका सहभागीहरूले छलफल गरेका थिए । त्यसपछि सम्मेलनका सहभागीहरू मध्ये केही प्रतिनिधिहरू लोमान्थाङ पुगेर सम्मेलनको घोषणापत्र सार्वजनिक गरेका थिए भने अन्य सहभागीहरू जोमसोमबाट मुक्तिनाथ मन्दिरको दर्शन गरेर बाग्लुङ्ग फर्किए ।
जोमसोममा स्थानीय सर्वसाधारणले मिडियाकर्मीहरूसँग जलवायु सङ्कटका बारेमा पर्याप्त कुराकानी गर्न नपाएको गुनासो गरेका थिए । मिडिया सम्मेलनका जलवायु संकट सनसनी बनाउन खोजेको गुनासो गरेका थिए । मिडियाले उठाएको भन्दा फरक प्रकृतिको अवस्था भएको जनाएका थिए ।
पाँचौँ दिन
सम्मेलनको पाँचौँ दिन बिहान बाग्लुङ्गमा बित्यो । नेपाल प्रेस युनियन जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा बाग्लुङ्गका पर्यटकीय गन्तव्य र प्रवर्द्धन विषयक छलफल कार्यक्रममा बाग्लुङ्ग नगरपालिकाका प्रमुख वसन्त कुमार श्रेष्ठ, बडी कालिका गाउँ पालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, बाग्लुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष, नेपाल प्रेस युनियन बाग्लुङ्गका अध्यक्ष संगम घर्ती मगर लगायतले आआफ्नो भनाइ राखेका थिए ।
बाग्लुङ्ग नगरपालिकाका प्रमुख वसन्त कुमार श्रेष्ठले ढोरपाटन शिकार आरक्षण धेरै राजश्व सङ्कलन गर्ने पर्यटकीय गन्तव्य भएको उल्लेख गरेका थिए । एउटै गन्तव्यले पनि अन्य धेरै पेशा व्यवसायलाई प्रवर्धन गर्न सक्ने भन्दै मिडियाकर्मीलाई सकारात्मक सामग्री सम्प्रेषण गरिदिन आग्रह गरेका थिए ।
बाग्लुङ्गमा कार्यक्रम सकेर सम्मेलनका सहभागीहरू बुधबार नै पोखरा हुँदै आआफ्नो गन्तव्य तर्फ लागे । सम्मेलनका सहभागीहरूले पोखराबाट मुक्तिनाथ मन्दिरसम्म पुग्ने क्रममा विभिन्न पर्यटकीय एवम् धार्मिक स्थलको समेत अवलोकन गरेका थिए ।
युनियनका अध्यक्ष शिव लम्साल सहित सम्मेलनका केही प्रतिनिधिहरू लोमान्थाङ पुगेर सार्वजनिक गरिएको घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सञ्चारको हक र सूचना अधिकारको पूर्ण कार्यान्वयनमा जोड दिइएको छ । विश्वभर प्रेस स्वतन्त्रतामाथि भइरहेको आक्रमण, पत्रकारहरूमाथि हिंसा, धम्की र दण्डहीनता बढिरहेको भन्दै सम्मेलनले अफगानिस्तानको गाजा लगायतका क्षेत्रमा सञ्चारकर्मीमाथि भएका हमलाको विरोध पनि गरेको छ।
यसको साथै पत्रकार सुरक्षाको सुनिश्चितताका लागि सम्मेलनले अन्तर्राष्ट्रिय ऐक्यबद्धता जनाउन पर्ने जोड दिँदै आइजेएफकी उपाध्यक्ष सविना इन्दरजीतले नेपालबाट यसको आह्वान गरेको बताइन् ।
अध्यक्ष लम्सालका अनुसार घोषणापत्रमा नेपालमा डिजिटल माध्यम नियन्त्रणको नाममा अभिव्यक्ति स्वतन्त्रताको खुम्च्याउन खोजिएकामा विरोध गर्दै सबै तहका सरकारलाई अनुकूल नीति निर्माण र पत्रकारहरूको अधिकारको संरक्षण गर्न आग्रह गरिएको छ ।
घोषणापत्रमा जलवायु सङ्कटलाई मानव अस्तित्व र लोकतन्त्रका लागि गम्भीर खतरा मानिएको छ । जलवायु परिवर्तनबाट सूचनाको पहुँच, अभिव्यक्ति स्वतन्त्रता र वातावरणीय न्यायमा प्रत्यक्ष असर पर्ने भन्दै जानकारीमूलक समाज निर्माणमा प्रेसको भूमिकालाई अझ प्रभावकारी बनाउने प्रस्ताव गरिएको छ । राजनीतिक दलहरूलाई जलवायु सङ्कटलाई प्राथमिक एजेन्डा बनाउँदै ठोस नीति र कार्यक्रममार्फत सम्बोधन गर्न विशेष आग्रह गरिएको छ ।
हिमाली जिल्ला मुस्ताङको सांस्कृतिक, धार्मिक र पर्यटकीय सम्भावना उच्च रहेको उल्लेख गर्दै जलवायु परिवर्तनको प्रतिकूल प्रभावसँग जुध्न विशेष ध्यान दिनुपर्ने उल्लेख छ । यसै गरी मुस्ताङबाट चीन प्रवेश गर्ने कोराला नाकाको सहज सञ्चालन र काली गण्डकी कोरिडोरको निर्माण पूरा गर्न संघीय सरकारको समेत ध्यानाकर्षण गरेको छ ।
यस यात्राले मुक्तिनाथ – दामोदर कुण्ड – कैलाश मानसरोवर मार्गको पूर्वाधार तयार गरी त्यस क्षेत्रको सांस्कृतिक र धार्मिक पर्यटन प्रवर्द्धन गर्न पनि सहयोग हुने विश्वास गरिएको छ ।
सम्मेलनले मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता र वातावरण संरक्षण एक अर्कासँग गाँसिएको विषय भएकाले संयुक्त प्रयास आवश्यक रहेको ठहर गरेको छ ।