बीसीडी ल्यानक्यास्टर पुन: सक्रिय बनाइने, मे १७ तारिख विषेश भेला आह्वान

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ भुटनीज कम्युनिटी डेभल्भमेन्ट अफ ल्यानक्यास्टर (बीसीडी) पेन्सिल्भेनियालाई पुन सक्रिय बनाइने भएको छ।
ल्यान्कयास्टरमा रहेका नेपाली भाषी भुटानी समुदायका लागि सन् २०१० मा स्थापना भएको बीसीडी पछिल्ला केही वर्ष निष्क्रिय प्राय: थियो।
शनिवार ल्यानक्यास्टरमा रहेका समाजका अगुवाहरूको छलफलले बीसीडीलाई पुन: सक्रिय बनाउने निर्णय गरेको हो।
छलफलमा पूर्व अध्यक्षहरु कमल काफ्ले र खेम सुवेदी सहित शंकर राई, शान्त शर्मा भट्टराई, दधि काफ्ले, तुलसी पोखरेल, खगेश्वर मिश्र, प्रेम बराल, ओम घिमिरे, त्रिविक्रम न्यौपाने, टङ्क सुवेदी र डिल्ली चापागाईँ सहभागी थिए।
‘बीसीडीले शुरुका दिनमा समुदायका लागि राम्रो काम गरेको थियो, तर विविध कारणले केही वर्ष यता निष्क्रिय प्राय: छ, अब हामीले के गर्न सक्छौ भनेर यो छलफल आयोजना गरेका हौ।‘ पूर्व अध्यक्ष खेम सुवेदीले समाजका अगुवाहरूको छलफलमा विषय प्रवेश गराएका थिए।
बीसीडीका पूर्व सचिव ओम घिमिरेका अनुसार मुख्य तीन सम्भावनाका बारेमा छलफल भएको थियो।
‘बीसीडीलाई नै पुन निष्क्रिय बनाउने, पेन्सिल्भेनियामा क्रियाशील कुनै अन्य संस्थाको शाखा भएर काम गर्ने वा नयाँ संस्था बनाउने भन्नेमा छलफल भयो।‘ पूर्व सचिव घिमिरेले भने,’सबै भन्दा पहिला बीसीडीलाई नै पुन सक्रिय बनाउन र त्यसका लागि के कस्तो प्रक्रिया हुन्छ भन्नेमा अध्ययन गर्ने निर्णय भयो।‘
घिमिरेका अनुसार छलफलले प्रेम बराललाई ट्याक्सफाइलिङ्गका प्रक्रियाका बारेमा अध्ययन गर्न जिम्मा दिइएको छ। यस्तै खगेश्वर मिश्र र ओम घिमिरेले पूर्व पदाधिकारीहरू सँग समन्वय गर्ने जिम्मा पाएका छन्।
समाजका अगुवाहरुको छलफल संस्था पुन सक्रिय गराउनका लागि कानुनी प्रक्रियाको पूर्ण अध्ययन सकी मे १७ तारिख विषेश भेला बोलाउने र सोही भेलाले थप निर्णय गर्ने विषयमा सहमत भएको जनाइएको छ।
‘स्वामित्व हस्तान्तरणमा पहिला कानुनी प्रक्रिया के कस्तो छ त्यो अध्ययन भए पछि १७ तारिख हामी एउटा निर्णयमा पुग्छौ, हाम्रो पहिलो प्रयास बीसीडीलाई नै सक्रिय बनाउने हो, यदि कानुनी रुपमा कुनै समस्या देखिए त्यो दिनको भेलाले नयाँ संस्थाको शुरुवात पनि गर्न सक्ने छ।’ समाज टाइम्स सँग घिमिरेले भने, ’ल्यानक्यास्टरमा रहेका नेपाली भाषी भुटानी समुदायका लागि एउटा संस्थाको पुन आवश्यकता महशुस भएको छ।‘
मे १७ तारिखको भेला ल्यानक्यास्टरको कोलम्बिया एभ्युन्युमा (2306 Columbia Ave Lancaster, PA 17603) हुने छ। सोही ठेगानामा बीसीडीको अर्को व्यवस्था नभए सम्मका लागि कार्यालय समेत स्थापना गर्ने निर्णय समेत भएको छ। समाजसेवी कमल काफ्ले र ददी काफ्लेले बीसीडीलाई कार्यलय प्रयोजनका लागि स्थान उपलब्ध गराउने भएका हुन्।
ल्यानक्यास्टर काउन्टीमा झन्डै पाँच हजार नेपाली भाषी भुटानी समुदायको बसोबास रहँदै आएको छ। तेस्रो देशमा शरणार्थी पुर्नवास कार्यक्रम अन्तर्गत उनीहरू नेपालबाट अमेरिका आएका हुन्।
सन् २०१० मा नरपति ढकालको संयोजकत्वमा बीसीडी घोषणा गरिएको थियो भने त्यसको एक वर्षपछि सन् २०११ मा कमल काफ्लेको अध्यक्षतामा कार्यसमिति गठन गरी ५०१सी संस्थाको रुपमा पेन्सिल्भेनियामा दर्ता गरिएको थियो।
बीसीडीको विधानमा एक कार्यसमितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था छ। सन् १३ मा खेम सुवेदी बीसीडीको अध्यक्ष बनेका थिए। सन् २०१६ मा सह सुवेदी अध्यक्ष निर्वाचित भएका थिए।