एनआरएनएहरुबीच एकता कायम गर्न राष्ट्रपतिको सुझाव

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिपेक्ष्यमा गैर आवासीय नेपाली संघमा देखा परेको विवाद समाधानका लागि एनआरएनएकै अग्रजहरूले मुख्य भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।
गैर आवासीय नेपाली संघको एक समूहका अध्यक्ष डा.बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग शितलनिवासमा सोमबार भएको भेटघाटमा राष्ट्रपति पौडेलले एनआरएनए विश्व डायस्पोरामै उत्कृष्ट संस्था भएकोले व्यक्तिगत वा कुनै साना समूहगत असन्तुष्टिका कारण संस्था नै अप्ठेरोमा पार्न नहुने उल्लेख गरे ।
‘तपाईँहरूको अहिलेको समस्याको निकास निकाल्न एनआरएनकै अग्रजहरूको भूमिका पनि महत्त्वपूर्ण छ, सकेसम्म मिलेर अघि बढ्दा राम्रो हुन्छ,’ उनले भने ।
भेटमा शेष घले नेतृत्वमा आगामी मे महिनामा एकताको महाधिवेशनका नाममा विधान विपरीत गतिविधि गर्न लागेको अध्यक्ष डा बद्री केसीले जानकारी गराए । उनले भने, ‘हाम्रो मुख्य खम्बा भनेको राष्ट्रिय समन्वय परिषद् (एनसीसी)भए पनि घले समूहले एनसीसीको अधिवेशन नै नगरी आफू खुशी एकता महाधिवेशनको नाममा विधानविपरित गतिविधि गर्न लागेको छ ।’
जवाफमा राष्ट्रपति पौडेलले भने “विधानसम्मत रुपमा विधिपूर्वक सबै काम हुनुपर्छ, त्यसैले यसमा परराष्ट्र मन्त्रालय जो यस संस्थाको तालुकदार पनि र सरकारको कार्यकारी पनि हो उसले नै मार्गप्रशस्त गर्नुपर्छ । तर जे जसो भने पनि पहिले त तपाईँहरू नै मिल्नुपर्छ । संवादमार्फत एउटा मिलनबिन्दु खोज्नपर्छ ।’
उक्त अवसरमा अध्यक्ष डा केसीले सरकारले गैर आवासीय नेपाली नागरिकता दिए पनि त्यसको कार्यान्वयन नहुँदा समस्या भइरहेको अवस्थामा अध्यादेशमा समेत कुनै नयाँ व्यवस्था नहुँदा नागरिकता कार्यान्वयनविहिन भएको उल्लेख गरे ।
जवाफमा राष्ट्रपति पौडेलले संविधानमै भएको अधिकार सरकारले संकुचित गर्न नसक्ने बरु त्यसका लागि आवश्यक कानून बनाउन ढिलाइ भएको हुनसक्ने उल्लेख गरे ।
उक्त भेटमा अध्यक्ष डा.बद्री केसी, उपाध्यक्ष द्वय डा. हेमराज शर्मा, रोजिना प्रधान राई, उप–महासचिव सोमनाथ सापकोटा, सचिव राधिका गुरुङ ९टीका०, सह–कोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सेना, एनसीसी बेल्जियमका पूर्व अध्यक्ष खड्क बहादुर केसी, अमेरिका प्रतिनिधि आरसी पन्त ,सल्लाहकार अतुल कोइराला, संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, तथा डा.मीन रानाभाट(यूके), संघका सिइओ राजेन्द्र कुमार राउत, सञ्चार अधिकृत इन्द्रलक्ष्मी घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै केसी समूहले आइतबार संसद्का उच्च पदाधिकारीहरूसँग भेट गरी गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयन, संघभित्रको विवाद समाधान र लगानी सहजता लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।
केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले संसद्का सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई छुट्टाछुट्टै भेट गरी संघभित्र देखिएको विवाद, सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा देखिएको ढिलाइ, गैर आवासीय नेपाली नागरिकता प्रयोगमा आएको अवरोध र लगानीका विषयमा विस्तृत जानकारी गराएको हो ।
प्रतिनिधिमण्डलले संघमा उत्पन्न विवाद समाधान गर्न सर्वोच्च अदालतले दिएको निर्देशनबारे जानकारी गराउँदै परराष्ट्र मन्त्रालयले आदेश कार्यान्वयनमा ढिलाइ गरेमा अदालत नियमावली अनुसार समय थपका लागि निवेदन दिनुपर्ने आवश्यकता औँल्याएको छ ।