राष्ट्रिय हितको लागि दिगो विकास आवश्यकता छ : प्रचण्ड
नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको समग्र विकास प्रक्रिया विशेषतः तराई–मधेश क्षेत्रको योगदानबारे चर्चा गरेका छन्।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला समन्वय समितिद्वारा आयोजित ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ अन्तर्गत सदरमुकाम परासीमा अन्तरक्रिया कार्यक्रम उनले विकासको मोडल स्थानीय आत्मनिर्भर अर्थतन्त्रमा आधारित हुनुपर्नेमा जोड दिए।
पूर्व प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय हितलाई केन्द्रमा राखी समावेशी, सन्तुलित र दिगो विकासका बाटाहरूको खोजी गर्नु आजको अपरिहार्यता भएको बताए ।
उनले हालै तीनकुनेमा राजावादी समूहद्वारा सञ्चालित आन्दोलनका क्रममा पत्रकारहरूलाई जिउँदै जलाउने प्रयास, उद्योग व्यवसायमाथि आगजनी तथा तोडफोडजस्ता आपराधिक कार्यहरूले राजावादी प्रवृत्तिको वास्तविकता उजागर गरेको बताए ।
‘यस्ता अराजक गतिविधिहरूले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुर्याउने हुँदा सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एकताबद्ध भई त्यसको प्रतिवाद गर्नु पर्छ।‘ प्रचण्डले भने।
प्रचण्डले हाल देशभर जारी शिक्षक आन्दोलनप्रति चिन्ता व्यक्त गर्दै त्यसको समाधान गरी बालबालिकालाई पठनपाठनमा फर्काउने वातावरण निर्माणका लागि शिक्षकका माग पुरा गर्न आफू प्रधानमन्त्री हुँदा सदनमा विधेयक दर्ता गरेको जानकारी दिए ।
कार्यक्रममा सहभागीहरूले बैङ्किङ क्षेत्रको ब्याजदरसम्बन्धी अस्थिरताले व्यवसायमा परेको प्रतिकूल असरबारे अवगत गराउँदै व्यावसायिक वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
उक्त कार्यक्रममा उद्योग तथा व्यापार क्षेत्रका प्रतिनिधिहरू, शिक्षाविद्, सञ्चारकर्मी, नागरिक समाजका अगुवाहरू, विभिन्न संघ–संस्थाका पदाधिकारी तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रह्यो ।
सहभागीहरूले मुलुकको वर्तमान आर्थिक, सामाजिक तथा राजनीतिक परिदृश्यमा विद्यमान विविध जटिल विषयहरूबारे पार्टी नेतृत्व समक्ष जिज्ञासा र सुझावहरू राखेका थिए ।