पेस्तोल सहित एक भारतीय नागरिकलाई पक्राउ
रौतहट । रौतहट सशस्त्र प्रहरीले पेस्तोल सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
राजदेवी नगरपालिका वडा नम्बर ८ लक्ष्मीपुर बेलविछवा नाका नजिकमा रहेको जयसवाल होटेलबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
होटेल बाहिर मदिरा सेवन गरेर हो हल्ला एवं झैँ झगडा गरिरहेको प्राप्त सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले भारत विहार राज्य सीता मढी जिल्ला नन्दवाराका २३ वर्षीय किशन कुमारलाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटका एसपी सन्तोष बस्नेतका अनुसार उनको शरीरबाट पेस्तोल एक थान, लागु औषध कोरेक्स ३ बोटल, नाईट्रोभेट ५ ट्याब्लेट, मोबाइल १ थान बरामद गरिएको हो।अवैध हतियार, लागु औषध सहित पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाइएको उनले बताए ।
नेपाल भारत सीमा क्षेत्रबाट अवैध हतियार, लागु औषधको कारोबार हुने गरेको सूचनाका आधारमा निगरानी बढाएको रौतहट सशस्त्र प्रहरीले जनाएको छ ।