भृकुटीमण्डपको भाडा नतिर्नेमा पर्यटन बोर्डदेखि रिपोर्टस क्लबसम्म
काठमाडौँ । समाज कल्याण परिषद्को स्वामित्व रहेको काठमाडौँको भृकुटीमण्डपस्थित भवन र जग्गा भोग चलन गरेबापत भाडा नतिर्नेहरू ५१ संस्था र व्यक्ति नाम सार्वजनिक भएको छ ।
समाज कल्याण परिषद्ले २०८१ चैत्र २१ गते दैनिक पत्रिकामा ३५ दिने सूचना जारी गर्दै ५१ संस्थाको सूची सार्वजनिक गरेको हो । सूचीमा नेपाल पर्यटन बोर्डदेखि चर्चित पत्रकार ऋषि धमलाको रिपोर्टस क्लबसम्म छन् । बोर्डको १ करोड ६७ लाख बढी बक्यौता छ भने क्लबको मात्रै ४६ लाख ५८ हजार ६४९ रुपैयाँ बक्यौता तिर्न बाँकी देखिन्छ ।
परिषद्को भृकुटीमण्डप व्यवस्था विभागले ५१ संस्था÷व्यक्ति÷व्यवसायीहरूको सूचीमा नेपाल पत्रकार महासंघ काठमाडौँ शाखादेखि काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयको नाम समेत छ ।
पटक पटक पत्राचार र सूचना प्रकाशित गरी भाडा तिर्न निर्देशन दिए पनि बेवास्ता गरेको विभागले जनाएको छ। तोकिएको समयभित्र भाडा नबुझाएको खण्डमा कानुनबमोजिम असुलउपर गरिने विभागले चेतावनी दिएको छ ।














