प्रचण्डद्वारा एनआरएनए नागरिकता तत्काल कार्यान्वयनमा ल्याउन माग, भिषा लगाउन भन्नु हास्यास्पद

काठमाडौँ/ पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गैर आवासीय नेपाली नागरिकता तत्काल कार्यान्वयनमा ल्याउन माग गरेका छन्। उनले एनआरएनएलाई भिषा लगाउन भन्नु हास्यास्पद भएको बताएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै दाहालले आफू प्रधानमन्त्री हुँदा प्रदान गरिएको गैर आवासीय नेपाली नागरिकता अझै कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाए।
‘संविधानमा गैर आवासीय नेपाली नागरिकताको प्रावधान राख्यौ, म प्रधानमन्त्री हुँदा मेरै हातले एनआरएनएका तत्कालिन अध्यक्ष कुल आचार्यलाई पहिलो गैर आवासीय नेपाली नागरिकता प्रधान पनि गरिएको हो,त्यस यता झन्डै चार हजार जनाले एनआरएनए नागरिकता लिइसक्नु भएको छ।’ दाहालले भने, ‘तर सरकारले मातहतका निकायलाई एउटा सर्कुलर सम्म नगर्दा त्यो कार्यान्वयन हुन सकेको छैन अहिले उहाँहरू भन्नु हुन्छ यो त कागजको खोस्टो जस्तो मात्र भयो भनेर गुनासो गरिरहनु भएको छ।’
उनले अहिले सरकारले संविधान विपरीत काम गरेको पनि बताए। ‘अहिले आएर एनआरएनएलाई निःशुल्क भिषा राख्नु हास्यास्पद छ।’ दाहालले भने।
‘संविधानले गैर आवासीय नेपाली नागरिकले राजनीतिक बाहेक सबै अधिकार पाउने सुनिश्चित गरिसकेको पछि फेरि भिषाको प्रावधान राख्दा संविधानको भावना विपरीत छैन र?’ भन्दै दाहालले प्रतिप्रश्न गरे।
पूर्व प्रधानमन्त्री दाहालले भने, ‘ यसले एनआरएनए लगानीलाई मात्र दुरुत्साहन गर्दैन दोस्रो र तेस्रो पुस्ताका एनआरएनएहरूलाई नेपाल सँग जोड्ने पहललाई पनि आघात पुग्दछ।’
उनले तत्काल एनआरएनए नागरिकताको कार्यान्वयन माग गरे।
‘संविधानले दिएको अधिकार दायाँ बायाँ नहुने गरी तत्काल कार्यान्वयनमा ल्याउन जोडदार माग गर्दछु र खबरदारी पनि भन्न चाहन्छु ।’ दाहालले भने।