अध्यादेशका विषयमा सांसदहरू पक्ष र विपक्षमा
काठमाडौँ । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल सम्बन्धी विधेयकले प्रेसको स्वतन्त्रतालाई निषेध गर्न खोजेको बताएका छन् ।
शुक्रबार सांसदबाहिर बोल्दै उनले सामाजिक सञ्जाललाई नियमन गर्नको लागि कानुनी जरुरी भए पनि नियन्त्रण गर्ने कुरा भने गलत भएको बताए ।
उनले भने, ‘सामाजिक सञ्जाललाई नियमन गर्नको लागि भनेर राष्ट्रिय सभामा सरकारले जे विधेयक दर्ता गरेको छ त्यो विधेयकको विपक्षमा प्रष्ट रूपमा मैले बोलिसकेको छु, बोल्छु । सामाजिक सञ्जाललाई नियमन गर्नको लागि कानुनी प्रबन्ध जरुरी छ, नियमन गर्ने कुरा सही हो तर नियन्त्रण गर्ने तरिकाबाट आउने कुरा गलत हो । त्यसैले अहिले आएको विधेयकले प्रेसको स्वतन्त्रतालाई पनि निषेध गर्न खोजेको छ ।’
यसको साथै, उनले अध्यादेश भन्ने बित्तिकै गलत हुने र विधेयक भन्ने बित्तिकै सही नै हो भनी हाल्न नपर्ने भन्दै अहिले आएको अध्यादेश गलत नभएको बताए ।
उनले भने, ‘अध्यादेश हो भन्ने बित्तिकै गलत हुदैँन् । विधेयक हो भन्ने बित्तिकै त्यो सही नै हो भनी हाल्नु पर्छ भन्ने पनि हुदैँन् । विगतमा नेपाली काङ्ग्रेसले अध्यादेशलाई विरोध गरेको उदाहरण पनि छ र विपक्षमा रहेको बेला सरकारले ल्याएको अध्यादेशलाई सहज तरिकाले पारित हुनलाई सघाएको पनि छ ।’
यस्तै, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने मिडिया वा वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न सरकाले कानून ल्याएको कुरा गलत भएको भन्दै नियमन गर्नको लागि विधेयक आएको उल्लेख गरे ।
उनले भने, ‘मिडिया वा वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न सरकाले कानून ल्याउँछ भन्ने जसरी प्रचार गरिरहनु भएको छ यो कुरा मिलेको छैन । सरकारले वाक स्वतन्त्रतालाई वा मिडियालाई नियन्त्रण गर्नको लागि होइन नियमन गर्नको लागि विधेयकहरूको बारेमा छलफल चलाएको छ ।’
सोही क्रममा माओवादी केन्द्रका नेता जनार्दन शर्माले अधिवेशनमा विभिन्न कानुनहरू निर्माण गर्ने कुरामा मौलिक अधिकारहरू र जनताका बोल्ने अधिकारहरूलाई बन्देज गर्ने खालका कतिपय अध्यादेशहरू आएको भन्दै त्यसको विरोध गर्ने बताए ।
उनले भने, ‘अहिले यो अधिवेशनमा विभिन्न कानुनहरू निर्माण गर्ने कुरामा मौलिक अधिकारहरू, जनताका बोल्ने अधिकारहरूलाई बन्देज गर्ने खालका कतिपय अध्यादेशहरू आएका छन् । त्यसको हामी विरोध गर्ने छौ ।’
यसको साथै, उनले अध्यादेशमा रहेका राम्रा कुराहरूलाई समर्थन गर्ने र कुशासनका कुराहरूको विरोध गर्ने पनि बताए ।
उनले भने, ‘अध्यादेशको बारेमा हामी डराएका छैनौ । अध्यादेशमा रहेका राम्रा कुराहरूको लागि सुशासन र आर्थिक वृद्धिका लागि ल्याएका राम्रा कुराहरूको हामी समर्थन गर्ने छौ तर कुशासनका कुराहरू त्यहाँ छन् ती कुराहरूको हामी विरोध गर्ने छौ ।’