ह्यारिसबर्गमा त्रिवेणी साहित्य मञ्चको नयाँ वर्ष शुभ कामना
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ सन् २०२४ साललाई बिदा र नव वर्ष २०२५ को आगमनलाई स्वागत गर्दै ३१ डिसेम्बर २०२४ मङ्गलवारका दिन हिमालयन तेक्वान्दोको कार्यकक्षमा त्रिवेणी साहित्य मञ्च ह्यारिसबर्ग र भुट्निज कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच) को संयुक्त आयोजनामा शुभकामना आदान – प्रदान कार्यक्रम सम्पन्न भयो ।
उक्त शुभकामना आदान-प्रदान कार्यक्रमका अवसरमा न्युह्यामसायर राज्यबाट निर्वाचित राज्यसभा सदस्य सुरज बुढाथोकी विशेष अतिथिको रूपमा उपस्थित आमन्त्रित थिए । त्रिवेणी साहित्य मञ्च र बीसीएचले संयुक्त रूपमा बुढाथोकीलाई हार्दिक बधाई ज्ञापन दिनुका साथै कुशल र सफल कार्यकालको कामना गर्दै प्रशंसा-पत्रद्वारा सम्मानित गऱ्यो ।
उक्त अवसरमा त्रिवेणीका अध्यक्ष केशव घिमिरे ,वैरागी माइलो र बीसीएच अध्यक्ष तिलक निरौलाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विशेष अतिथिको आसनबाट बुढाथोकीले आफू निरन्तर रूपमा अध्ययनशील रहेको र निरन्तर मिहिनेतकै कारण आज यो स्थान प्राप्त गर्न सम्भव भएको बताए।
‘यो विजय मेरो होइन जनताहरूको जितका रूपमा लिएको छु।’उनले भने।
साथै उनले युवाहरूलाई केही नयाँ काम मार्फत समाजसेवामा निरन्तर लाग्न र अध्ययनशिलहुन समेत उत्प्रेरित गरे । बुढाथोकी भुटानको साम्ड्रुकजोङ्खर जिल्लाको सामराङ्ग गेबोकमा जन्मिएका हुन् ।
सन १९९० मा भुटानी राजा जिग्मी सिङ्गीले सैनिक शासन लगाएर दक्षिण भुटानका नागरिकहरूको मानवअधिकारको आवाजलाई दबाउने काम गऱ्यो । सेनाको अन्याय र अत्याचारका कारण भुटानबाट करिब सवा लाख मानिसहरूलाई देशबाट लखेटियो ।
आफ्नो र परिवारजनको ज्यान बचाउन भुटानीहरू देश छाड्न बाध्य भए । कत्ति भुटानीहरूको आर्मीले ज्यान लियो भने कत्तिले सन् ९० देखि आज पर्यन्त जेलमा कठोर यातना सहनु परेको छ । सामराङ्ग ब्लकका दिल बहादुर र नर माया बुढाथोकीका सुपुत्र सुरज बुढाथोकी भुटान छोड्दा मात्र नौ वर्षको थिए ।
बुढाथोकी आमा-बाबा र परिवारसित नौ वर्षको कलिलो उमेरमा पूर्वी नेपालको टिमाई भुटानी शरणार्थी शिविरमा शरण लिन आइपुगे । उनीले त्यही टिमाई भुटानी शरणार्थी शिविरको स्कुल ओएसिस एकेडेमीमा कक्षा तीनबाट आफ्नो पढाई शुरु गरे र एसएलसीसम्मको परीक्षा पूरा गरे ।
नेपालमा रहँदासम्म उनी त्रिभुवन महाविद्यालयबाट स्नातकोत्तर तहमा अध्ययनरत थिए । उनी एक मिहिनेती र सङ्घर्षशील युवा हुन । आफ्नो अध्ययन कार्यलाई सधैँ निरन्तरता दिइनु पर्छ भन्ने सोचका धनी बुढाथोकी सन् २००९ मा भुटानी शरणार्थी तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत संयुक्त राज्य अमेरिकामा आइपुगे ।
अमेरिका र नेपालको पढाई – तुलना गर्दै उनले पुनः स्नातक स्तरबाट आफ्नो पढाइलाई निरन्तरता दिए । हाल उनी परिवर्तनकारी सामाजिक परिवर्तनमा विद्यावारिधि गर्दै छन् ।
ओएसिस एकेडेमीका नेपाली विषय शिक्षक यदु कोइरालाका अनुसार बुढाथोकी पढ्मा अत्यन्त मिहिनेती , इमानदार र तीक्ष्ण दिमागका विद्यार्थी थिए ।
हँसिलो मिजास, कहिल्यै नरिसाउने र सधैँ केही न केही नयाँ कुरा सिक्ने स्वभावले नै आज उनले यो सफलता प्राप्त गरेका हुन्’ शिक्षक कोइरालाले भने।
बुढाथोकी सन् २०२४ को नोभेम्बरमा सम्पन्न संयुक्त राज्य अमेरिकाको आम निर्वाचनमा न्युह्यामसायर राज्यको राज्य सभाका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट निर्वाचित सांसद हुन् । उनको यो विजय केवल व्यक्तिगत विजय होइन यो त सिङ्गो नेपाली भाषी भुटानी , समग्र नेपाली भाषी र सम्पूर्ण आप्रवासी अमेरिकीहरूको सफलता र जित हो ।
बुढाथोकी एक निष्पक्ष समाजसेवी व्यक्तित्व भएकाले उनीबाट सबै अमेरिकीहरूले न्यायको आशा गर्नु स्वाभाविक हो । उनले विशेष गरी आप्रवासी अमेरिकीहरूको आवाजलाई न्यायिक रूपमा सदनमा राख्नुहुनेछ भन्ने सबैमा आशा पलाएको छ ।
उनको कार्यकाल सफल र सहज रहोस् भनी हामी सम्पूर्ण नेपाली भाषी भुटानी र आप्रवासी अमेरिकी समुदायहरू शुभकामना व्यक्त गर्दछौँ । बुढाथोकीको यो सफलता एक सुरुवात मात्र हो र यो एक प्रेरणाको नमुना हो । अमेरिकी राजनीतिमा आप्रवासी युवाहरूको विशेष चासो रहँदै आएको छ । त्यसमा पनि भुटानी अमेरिकीहरूको पृष्ठभूमि धेरै पीडादायी छ ।
भुटानी चौथा राजा जिग्मी सिङ्गीले देशबाट आर्मी शासन लगाएर लखेटेको र शरणार्थी बनेर दुई दशकसम्म शिविरमा नारकीय जीवन जिउनु परेको व्यथाहरू आलै छन् । यस अर्थमा पनि बुढाथोकीको यो सफलता आफ्नै नागरिकहरू लखेट्ने राजा जिग्मी सिङ्गीको पक्कै पराजयको सुरुवात हो ।
भविष्यमा अमेरिका , क्यानडा ,अस्ट्रेलिया र अन्य जहाँ-जहाँ भुटानी शरणार्थीहरू पुनर्वास भएका छन् ती सबै देशहरूमा कुनै कुनै तहमा आप्रवासी भुटानीहरूको उपस्थिति बढ्दै गएको अवस्थामा भने आज भुटानी नागरिकहरूलाई अनागरिक बनाएर देशबाट लखेट्ने शासकको सिर त्यति बेला अवश्य लाजले निहुरिने छ ।
त्यसैले राजा जिग्मी सिङ्गीको हारको दिन गन्ती आजैबाट शुरु भएको छ । सन् १९९०को दशकमा भुटानबाट लखेटिएका सवा लाख भुटानी शरणार्थीहरू मध्ये साढे छ हजार भुटानीहरूलाई आज चालीस औँ वर्षसम्म शरणार्थीको रूपमा पूर्वी नेपालका शरणार्थी शिविरहरूमा नारकीय जीवन जिउन बाध्य बनाइएको छ ।
जबसम्म यी सबै भुटानी शरणार्थीहरूले शान्तिको सास फेर्ने मौका पाउँदैनन् र स्थायी समाधानको मार्ग भुटानका तर्फबाट प्रशस्त खुल्ला गरिँदैन तबसम्म भुटानी राजाले अन्तर्राष्ट्रिय जगतका अगाडि आशु झारेर केही न केही सहयोगको बहानाबाजी गरेर परिवारको भरण-पोषण गरिरहनु नै पर्ने हुन्छ ।
गेलेफु माइन्डफुलनेस सिटीको परियोजनाका लागि एक हजार वर्ग किलोमिटर जमिन विदेशी धनाढ्यलाई एक सय वर्षका लागि ठेक्कामा दिनुलाई एक उदाहरण मान्न सकिन्छ । उक्त एक- हजार वर्ग किलोमिटर गेलेफु वरपरको जमिन भुटानबाट इन्डियाले छिन्न आफ्ना खुनी नङ्ग्रा गाडेको हो भन्ने बुझ्न भुटान र इस्ट इन्डिया कम्पनी बीच सम्पन्न १८६५ को सिन्चुला सन्धीको मर्म र भावना बुझे स्वतः प्रस्ट हुन्छ ।
उक्त कार्यक्रमका अवसरमा नयाँ वर्ष २०२५ को आगमनलाई स्वागत गर्ने क्रममा महिला दिदी-बहिनीहरुले विभिन्न सांस्कृतिक नाच- गान प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा अतिथिका आसनबाट डा. नारद पोखरेल , हिमालयन तेक्वान्दो ह्यारिसबर्गका संचालक तथा प्रमुख प्रशिक्षक नकुल शर्मा र त्रिवेणी साहित्य मञ्च ल्यानक्यास्टर शाखाका संयोजक ओम घिमिरे र साहित्यकार गण्डकी पुत्रले सभामा उपस्थित सबैलाई नव-वर्ष २०२५ को शुभकामना व्यक्त गर्दै आफ्ना साहित्यिक रचना वाचन गरे।
उक्त सफल र सभ्य शुभकामना आदान-प्रदान कार्यक्रमको सञ्चालन त्रिवेणी साहित्य मञ्च ह्यारिसबर्गका सचिव नारद आचार्य सुदामाले गरेका थिए।
र यो पनि …