रविलाई ३ वटा कसुरमा मुद्दा चलाउने प्रतिवेदन पेश हुने

काठमाडौं । प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएसँगै तीनवटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन पेस गर्ने तयारी गरेको छ । उनीविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने तयारी गरेको हो ।
म्याद थपका लागि बिहीबार रविसहितका ५ जनालाई कास्की अदालतमा उपस्थित गराइने छ । कास्की प्रहरी हिरासतमा रहेका लामिछानेको पर्साको वीरगन्जको सानोपाइला सहकारीको बयान सकिएसँगै मुद्दा दर्ताका लागि राय प्रतिवेदन तयार गर्न सुरु भएको हो । २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछानेसँग सुरुमा कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरण’दयगत बयान लिइएको थियो । पोखरापछि रुपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको साहारा सहकारीको रकम अपचलनमा बयान लिइएको थियो ।
सोमबार पोखराबाट काठमाडौं हुँदै लामिछानेलाई हवाईमार्गमार्फत पर्सा पुर्याइएको थियो । मंगलबार बयान सकिएसँगै उनलाई पर्साबाट पुनः काठमाडौं हुँदै पोखरा फर्काइयो । बुधबार दिउँसोको फ्लाइटमार्फत लामिछानेलाई पुनः कास्की पुर्याइएको हो ।
अब भने लामिछानेविरुद्ध अभियोजन गरेर जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गर्नेछ । प्रहरीका अनुसार लामिछानेले बयान दिएका पाँचवटै जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा एकसाथ दर्ता हुनेछन् । उनीसँगै पूर्वडीआईजी छविलाल जोशीसमेत प्रहरीको थुनामै छन् । उनी ६ असोजमा पक्राउ परेका थिए । प्रहरीले लामिछानेसहितका आरोपीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा अनुसन्धान गरेको थियो ।
प्रहरीले उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि अनुसन्धान गरिरहेको हुनाले ९० दिनभित्र मुद्दा अदालतमा दर्ता गरिसक्नुपर्छ । जोशी पक्राउ परेको दिनबाटै अरू ४ जनाको म्याद मिलान भएको हुनाले ५ पुसमा कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गर्नुपर्ने कानुनी व्यवस्था छ ।
सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा लामिछाने, जोशी, गुल्मीको मुसिकोट नगरपालिका–४ घर भएकी लिला पछाई, तनहुँका रामबहादुर खनाल र पोखरा घर भएका कृष्ण गुरुङ प्रहरीको हिरासतमा छन् । पक्राउ परेका भन्दा बाहेक कम्तीमा ३५ जनालाई फरार प्रतिवादी कायम गर्न प्रहरीले राय दिने भएको छ ।
पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय ५० जना सर्वसाधारणले बचत गरेर राखेको रकम हिनामिना भएपछि जिल्ला अदालतल कास्कीले १४ जनाविरुद्ध पक्राउ पुर्जीको अनुमति दिएको थियो ।
जसमध्ये गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने पनि एक हुन् । सहकारीमा सर्वसाधारणले बचत गरेको रकम गोरखा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु राई, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक छविलाल जोशी र कुमार रम्तेलले हिनामिना गरेको प्रहरीले निष्कर्ष निकालेको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र कास्की प्रहरीले गरेको अनुसन्धानमा पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन भएको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले सहकारीको ऋण प्रयोग गरिरहेको गोरखा मिडिया प्रालिले कम्पनी कानुनका आधारभूत मूल्यमान्यतासमेत पालना नगरेको भेटिएको जनाएको छ ।
पाँच सहकारीबाट रवि लामिछाने सेयरधनी तथा प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ गैरकानुनी रूपमा परिचालन भएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा देखाएको थियो ।