साउदी अरबलाई २०३४ विश्वकप आयोजना गर्ने जिम्मेवारी
काठमाडौं । फिफाले सन् २०३४ मा हुने पुरुष फिफा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी साउदी अरबलाई दिएको छ। बुधबार फिफा मुख्यालयमा भएको निर्णयले साउदी अरबलाई एकल आयोजकको रूपमा चयन गरेको हो।
यो निर्णय साउदी अरबका प्रधानमन्त्री र उत्तराधिकारी मोहम्मद बिन सलमानको “भिजन २०३०” रणनीतिको एउटा ठूलो उपलब्धि मानिएको छ। यस रणनीतिको लक्ष्य साउदी अरबलाई ‘वैश्विक लगानी केन्द्र’को रूपमा स्थापित गर्नु हो।
साउदीले यो परियोजनाका लागि १० अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना बनाएको छ। फिफाको मूल्यांकन प्रतिवेदनले साउदीको प्रस्तावलाई ५ मध्ये ४.२ अंक दिएको थियो, जुन ऐतिहासिक रूपमा उच्च छ। फिफाले यस प्रस्तावलाई “अद्वितीय, नवीन र महत्वाकांक्षी दृष्टिकोण” भएको भन्दै प्रशंसा गरेको छ।
विश्वकपको तयारीस्वरूप साउदी अरबले प्रमुख सहर रियाद, जेद्दा, अलखोवर, अभा, र नियोममा स्तरीकरण गर्ने योजनाका साथै ११ नयाँ रंगशाला निर्माण गर्ने घोषणा गरेको छ। यसका अतिरिक्त एक लाख ८५ हजार होटलका कोठा, विमानस्थल, सडक, रेल, र अन्य आधुनिक पूर्वाधार निर्माण कार्य अघि बढाइनेछ।