फुटबलर अञ्जिलाको वल्ड प्रिमियर डिसेम्बर ८ मा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’ को आधिकारिक पोस्टर सार्वजनिक भइसकेको छ ।
चलचित्रको वल्ड प्रिमियर भने मंसिर २३ गते (डिसेम्बर ८) हङकङमा हुने पनि पक्का भएको छ । प्रिमियरमा अञ्जिलासँगै चलचित्रका निर्देशक मिलन चाम्स सहभागी हुने छन् ।
हङकङमा प्रिमियर गरेपछि चलचित्र बेलायत, अमेरिका, अस्ट्रेलिया र जापानमा प्रदर्शन हुने निर्माता प्रेमकुमार श्रेष्ठले जानकारी दिए । नेपालमा भने फागुन २९ गते चलचित्र प्रदर्शन हुने छ ।
चलचित्रमा अञ्जिला आफैँ मुख्य भूमिकामा छिन् भने, सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङको पनि अभिनय रहेको छ ।
निर्माता श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन् । चलचित्रको छायाङ्कन सुदीप बरालले गर्दा सम्पादन मिलन श्रेष्ठको रहेको छ । चलचित्र मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको हो ।