तापक्रम र नियन्त्रण अभियानको प्रभावले घट्दै डेङ्गु सङ्क्रमण
काठमाडौं । घट्दो तापक्रम र डेङ्गु नियन्त्रणका लागि विभिन्न अभियानले डेङ्गु सङ्क्रमण घटाउन मद्दत गरेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार हालैका तथ्याङ्कले डेङ्गु सङ्क्रमण घट्दो क्रममा रहेको देखाएको छ।
डा. दाहालले भने, “डेङ्गु नियन्त्रणका लागि पालिका तहसम्म खोज र नष्ट अभियान सञ्चालन गरिएको छ, साथै घट्दो तापक्रम पनि यसको मुख्य कारण हो। चिसो मौसममा लामखुट्टेले अण्डा उत्पादन गर्ने प्रक्रिया घट्छ, जसले सङ्क्रमण कम गर्न सहयोग गरेको छ।”
डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर लामखुट्टेको बासस्थान खोजी र नष्ट गर्ने अभियान सुरु गरेको थियो। मन्त्रालयले हरेक शुक्रबार १० बजेर १० मिनेटमा सबै मन्त्रालय, विभाग, निजामती कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ता, र सर्वसाधारणलाई यस अभियानमा सहभागी हुन आह्वान गरेको छ। यसमा सरकारी तथा गैरसरकारी संस्था र नागरिक तहको सक्रिय सहभागिता रहेको छ।
डा. दाहालले गत वर्षको तुलनामा यस वर्ष डेङ्गु सङ्क्रमण दर घटेको जानकारी दिनुभयो। उहाँका अनुसार देशव्यापी स्तरमा सञ्चालित यी अभियानहरूले सङ्क्रमण दर घटाउन महत्वपूर्ण भूमिका खेलेका छन्। नोभेम्बर ८ सम्मको तथ्याङ्कअनुसार हाल सबैभन्दा धेरै सङ्क्रमण कास्कीमा सात हजार दुई सय ८६ जनामा देखिएको छ, त्यसपछि क्रमशः काठमाडौँमा चार हजार आठ सय तीन, तनहुँमा दुई हजार तीन सय ७३, पर्वतमा एक हजार सात सय ४९, ललितपुरमा एक हजार दुई सय ४१ र अन्य जिल्लाहरूमा पनि सङ्क्रमण पुष्टि भएको छ।
हालसम्म डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ भने ७६ जिल्लामा सङ्क्रमण फैलिएको छ। प्रत्येक वर्ष जुनदेखि अगस्टसम्मको समय डेङ्गु महामारीको जोखिमपूर्ण समय मानिन्छ। हालैको तथ्याङ्कअनुसार, नोभेम्बर ५ पछि चार दिनमा देशभर १,२९४ नयाँ सङ्क्रमण पुष्टि भएको छ, जुन अघिल्लो हप्ताको तुलनामा घटेको हो।
डा. दाहालका अनुसार, “पछिल्लो चार हप्तामा सङ्क्रमण दर ३५ हजारबाट घट्दै आएको छ। एक महिनायता डेङ्गुको ट्रेन्ड घट्दो क्रममा छ।” यस वर्ष पुस मसान्तसम्ममा ५२ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएकोमा २० जनाको मृत्यु भएको थियो।
डेङ्गु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य रोग हो। लामखुट्टेको टोकाइबाट बच्नका लागि पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, चुहिएको पानीको मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी सफा राख्ने र सुत्ने बेला झुल प्रयोग गर्न सुझाव दिइएको छ।