विकासको अभियानमा प्रवासी नेपालीलाई सघाउन अनुरोध
वासिङ्टन, डिसी। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा विकासलाई केन्द्रमा राखेर काम गरिरहेको वर्तमान सरकारलाई सघाउन प्रवासी नेपालीलाई अनुरोध गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको सहकार्यमा गठन भएको यो सरकारले राजनीतिक स्थायित्वलाई महत्व दिएको उल्लेख गर्दै मन्त्री पौडेलले प्रवासी नेपाली समुदायलाई मातृभूमिको विकासका लागि लगानी गर्ने अवसरमा सहभागी हुन आग्रह गरे
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी भई वासिङ्टन, डिसीमा रहेका अर्थमन्त्री पौडेलले नेपाली राजदूतावासद्वारा आयोजित छलफलमा नेपालका विभिन्न क्षेत्रमा लगानीका अवसरबारे जानकारी दिए। उनले ऊर्जा, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा पर्याप्त सम्भावना रहेको र यहाँ आर्जन गरेको सीप, पुँजी र ज्ञानलाई नेपालमा उपयोग गर्न सुझाव दिए।
अर्थमन्त्री पौडेलले “वर्तमान सरकारको उद्देश्य जनचाहनाअनुरूप विकास गर्दै समृद्धि हासिल गर्नु हो, त्यसैले हामी सबैले मिलेर अघि बढ्नुपर्छ,” भन्दै लगानीकर्तालाई प्राथमिकता दिइने प्रतिबद्धता पनि व्यक्त गरे।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपालमा आर्थिक विकासका लागि थप पुँजी आवश्यक रहेकाले गैरआवासीय नेपालीहरूको सहयोग महत्वपूर्ण हुने बताए।
छलफलमा सहभागीहरूले नेपालको कर प्रणाली, लगानीमैत्री वातावरण, कर्मचारी संयन्त्रको कार्यसम्पादन र प्रविधिबारे प्रश्न राखेका थिए। मन्त्री पौडेलले नेपालमा लगानीको वातावरण सुरक्षित रहेको र प्रतिफल सुनिश्चित गरिएको जानकारी दिए।














