काग तिहारको महत्त्व र धार्मिक मान्यता के छ ?

प. कमलनाथ सापकोटा
मेरिल्यान्ड,अमेरिका/ यमपञ्चक समेत भनिने तिहारको पाँच दिनमा क्रमैसँग काग, कुकुर, गाई, गोरु र आफ्ना दाजुभाइको पूजा गरिन्छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म गरी पाँच दिन मनाइन्छ ।
यसको सुरुवात कात्तिक कृष्ण त्रयोदशीको दिन मनाइने काग तिहारबाट हुन्छ । काग तिहारको धार्मिक महत्त्व हिन्दु धर्मावलम्बीहरूको अर्को महान् पर्व बडादसैँ सकिएको लगभग दुई सातापछि नै आउने तिहारको पहिलो दिनमा यमराजको दूत कागको पूजा गरिन्छ । काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रूपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ ।
हाम्रो नेपाली समाजमा कागलाई सन्देश वाहक प्राणीको रूपमा लिइन्छ । अझै पनि गाउँघरमा आफ्नो घर अगाडि आएर काग करायो भने केही सन्देश ल्याएको वा घरमा पाहुना आउने जानकारीको दिएको मानिन्छ । कागले विशेष गरी अशुभ सन्देश छिटो ल्याउने जनविश्वास रहेको छ । त्यसैले अझै पनि आफ्नो घर आँगनमा आएर काग कराउन थाल्यो भने राम्रो खबर सुनाओस् भनेर ‘सुबोल… सुबोल…’ अर्थात् शुभ बोल भनेर भनिन्छ । हिन्दु धर्मशास्त्रका अनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरूको जन्म मृत्युको विवरण राख्ने गर्दछन् ।
त्यस्तो विवरण पृथ्वी लोकमा ल्याउने र लैजाने काम भने कागले गर्छ भन्ने धार्मिक मान्यता रहेको छ । आकाशबाट उडेर छिटो सन्देश ल्याउन लैजान सक्ने भएकाले यमराजले कागलाई आफ्नो दूत बनाएको धार्मिक विश्वास रहेको छ । त्यसैले काग तिहारको दिनमा कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा यसले वर्षभरि आफ्नो घरमा दुःखद सन्देश ल्याउँदैन भन्ने विश्वास रहेको छ ।
यस्तै काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । त्यसैले कागतिहारमा कागलाई घर आँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । यस दिनमा बिहानैदेखि कागको पूजा गरिन्छ, घर बाहिर पात या दुना टपरीमा विभिन्न खाना राखेर कागलाई खान दिइन्छ । कागको पूजाआजा गर्दै आउँदो वर्षभरि कागले आफ्नो घरआगनमा राम्रो र सुखद खबर मात्रै ल्याओस् भनेर कामना गरिन्छ । त्यस्तै प्रकृतिको लागि पनि काग एउटा नभई नहुने पन्छी हो ।
यसले हाम्रो ‘इकोसिस्टम’मा पनि ठूलो योगदान दिन्छ । हामीले लगाएको बालीनालीलाई हानी गर्ने किरा फट्याङ्ग्राहरूलाई खाइदिएर कागले अन्न उत्पादन बढाउन सहयोग गर्छ । यसले पर्यावरण स्वच्छ राख्न पनि महत्त्वपूर्ण भूमिका निभाउँछ । मानव सभ्यता र प्रकृतिसँग जोडिएको पन्छी कागको पूजा गर्नुलाई मानिसले प्रकृतिमा रहेका जीवजन्तुलाई गर्ने प्रेम र सम्मानको रूपमा पनि बुझ्न सकिन्छ ।