उपेन्द्रसँग बद्री रूष्ट, साधारण सभाको औचित्यमा प्रश्न, प्रधानमन्त्रीको सहभागिता अन्यौल
काठमाडौं। गैर आवासीय नेपाली संघ एनआरएनए भित्र डा. बद्री केसी र संस्थापक अध्यक्ष उपेन्द्र महतोबीच सम्बन्ध चिसिएको छ । लामो समयदेखि उपेन्द्रले बद्रीलाई साथ दिँदै आएका थिए ।
१० औं अधिवेशनका बेला तीन जना अध्यक्ष बनाउँदा उपेन्द्रले नै बद्रीलाई अघि बढाएका थिए भने ११ औं अधिवेशनका बेला पनि उपेन्द्र बद्रीकै पक्षमा थिए । संस्थापक अध्यक्ष भएर पनि एउटा समूहको मात्रै नेता भएको भन्दै पटक पटक आलोचना खेप्दै आएका उपेन्द्र सर्वोच्च अदालतको फैसला अनुसार शेष घलेले एकताको अधिवेशन गराउने समितिमा पनि छन् । अहिले परराष्ट्र मन्त्रालयले घलेलाई सम्बोधन गरेर पत्राचार गरेपछि उपेन्द्र उक्त पत्र कार्यान्वयन गर्नु पर्ने लाइनमा देखिएका छन् भने बद्रीसमूह पत्र कार्यान्वयन रोक्ने चलखेलमा लागेको छ ।
एनआरएनएको बद्री केसी समूहले साधारण सभा बोलाएको छ भने परराष्ट्र मन्त्रालयले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न भन्दै शेष घलेलाई पत्राचार गरेको हो ।
विगतमा बद्रीलाई साथ दिएका उपेन्द्र महतो र जीवा लामिछाने नै उनीसँगै रुष्ट भएका छन् । अक्टोबर ११ मा एनआरएन डेका अवसरमा बद्री समूहले पशुपतिमा गरेको कार्यक्रममा उपस्थित भएका उपेन्द्र महतो त्यसलगत्तै आरके शर्मा समूहले भर्चुअलरुपमा गरेको कार्यक्रममा उपस्थित भएर शुभकामना दिएका थिए । त्यसपछि उपेन्द्र र बद्रीको सम्बन्धमा चिसोपना आएको उनी निकट स्रोतले बताएको छ ।
आरकेले संस्थापक अध्यक्षले संस्थालाई एकतावद्ध गराउन पहल गर्नु हुन्छ की एउटा मात्रै गुटको लागि हिँड्नु हुन्छ भन्दा उपेन्द्रले संस्थालाई एकताबद्ध बनाउनका लागि पहल गर्ने बताएका थिए ।
जापानबाट महेश श्रेष्ठ काठमाडौं आएपछि उपेन्द्रलाई भेटेर संस्थालाई एकतावद्ध बनाउनका लागि पहल गर्न आग्रह गरेका थिए । त्यसपछि उपेन्द्र महतोको घरमा जीवा लामिछाने, महेश श्रेष्ठ, बद्री केसीसहितको लन्च मिटिङ भएको थियो । सोही मिटिङमा उपेन्द्रले बद्री केसीलाई तपाई फेरि अध्यक्षमा नउठ्ने भनेकाले १० औं अधिवेशनका बेला तीन जना अध्यक्ष बनाएको प्रशंग निकालेका थिए ।
त्यसमा केसीले प्रतिवाद गर्दै विगतमा आफूले फेरि नउठ्ने कुरा नभनेको र डकुमेन्टेसन पनि नभएको बताएको स्रोतले जानकारी दियो । लन्च पछि सर्वोच्चको फैसला कार्यन्वयनका लागि आग्रह गर्न परराष्ट्र जाने भन्दै सबै हिँडेका थिए । तर, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भेट्न बद्री बाहेक अरु सबै पुगे । त्यहाँ आरजुले उपेन्द्रसहित नै सबै फैसला कार्यान्वयनका लागि भन्न पुगे पछि तपाईहरु एक जुट भएर आउनु भएको हो भन्दै प्रतिप्रश्न पनि गरेको बुझिएको छ । किनकी विगतमा बद्रीलाई लिएर उपेन्द्र आरजुलाई बधाई दिन पुगेका थिए ।
उपेन्द्रले नै आफू अब संस्थालाई एकतावद्ध बनाउनका लागि लागेको बताएपछि परराष्ट्रले फैसला कार्यान्वयनका लागि पत्राचार गरेको हो । उक्त पत्राचार पछि अहिले बद्री समूहले फेरि बखेडा झिक्न सुरु गरेको छ ।
सरकारले घलेलाई जिम्मा दिइसके पछि केसी समूहको साधारणसभाको औचित्यमाथि पनि प्रश्न उब्जिएको छ ।
परराष्ट्रमन्त्रीले पत्राचार गरेर घलेलाई जिम्मा दिने अनि प्रधानमन्त्री केपी शर्मा ओली केसी समूहले आयोजना गरेको अक्टोबर २७–२८ को साधारण सभामा जान नमिल्ने आवाज उठ्न थालेको छ ।
बद्री केसी समूहले अवैध तरिकाले सचिवालय कब्जा गरेको खुलासा
October 23, 2024 @ 8:58 am
[…] उपेन्द्रसँग बद्री रुष्ट […]