अन्तर्राष्ट्रिय ब्याटल अफ डेटोनामा नेपालबाट कमल सहभागी हुने
काठमाडौं। नेपालका कमल मगर सोमबार अमेरिकाको फ्लोरिडा प्रस्थान गर्दै छन्। उनी अन्तर्राष्ट्रिय “ब्याटल अफ डेटोना” प्रतियोगितामा सहभागी हुँदैछन्।
नोभेम्बर २६ र २७ तारिखमा मिक्स्ड मार्शल आर्ट्सको स्पर्धा आयोजना गर्दैछ। कमलले यस प्रतियोगितामा दुई विधा, सर्ट वेपन र चाइनिज क्रिएटिभ फम्स, मा नेपालको चुनौती प्रस्तुत गर्नेछन्। प्रतियोगिता विश्व मार्शल कमिटी (डब्लुएमएसी), युएसएको आयोजनामा हुनेछ।
कमलले आफ्नो खेल करियरमा ६ स्वर्ण, ३ रजत, र ४ कांस्य पदक जितिसकेका छन्। उनले सन् २०१८ मा थाइल्यान्डमा आयोजित विश्व च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत जितेका थिए। त्यसैगरी, सन् २०१८ मा इङ्गल्याण्डमा भएको उमा विश्व च्याम्पियनसिपमा १ स्वर्ण र १ कांस्य र सन् २०१९ मा क्रोएसियामा भएको वर्ल्ड मार्शल आर्ट्स गेम्समा २ स्वर्ण जितेका थिए।
सन् २०१९ मा अस्ट्रियामा भएको विश्व कपमा २ रजत र १ कांस्य तथा सन् २०२३ मा इङ्गल्याण्डमा सम्पन्न युरोपियन च्याम्पियनसिपमा १ स्वर्ण र १ कांस्य जितेका थिए। साथै, सन् २०२० मा भर्चुअल इन्टरनेशनल पेन्डामिक मार्शल आर्ट्स च्याम्पियनसिपमा पनि १ स्वर्ण र १ कांस्य पदक जितेका थिए। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका कमललाई उत्कृष्ट खेलाडीको रुपमा मानिन्छ।
कमललाई सफलताको शुभकामना दिदै नेपाल उमा कुङफुका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक संजीतकुमार राई, महासचिव भूपेन्द्र गुरुङ, र सचिव रमेश महर्जनले सोमबार एक कार्यक्रमको बीचमा बिदाइ गरेका छन्।
सोही प्रतियोगितामा नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा तामाङले पनि निर्णायकको भूमिका निर्वाह गर्नेछन्। त्यस्तै, नेपालका अनुप थापाले किक बक्सिङको लाइट वेट स्पर्धामा खेल्नेछन्। सिद्धार्थ र अनुप दुवै न्यूयोर्कमा रहेका छन् र त्यहीँबाट फ्लोरिडा जाने तयारीमा छन्।














