तपाईँले मतदाता नामावलीमा नाम दर्ता गर्नु भयो? पेन्सिल्भेनियामा भोली अन्तिम दिन

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ यो वर्ष अमेरिकामा आम चुनावको वर्ष हो। नोभेम्बर पाँच तारिख आम चुनाव हुँदै छ। यो पटक राष्ट्रपति देखि राज्य र स्थानीय तहका उम्मेदवारलाई भोट दिन पाइन्छ।
राष्ट्रपतिका लागि डेमोक्याटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बिचमा चरम प्रतिस्पर्धा रहेको छ।
यदि तपाई अमेरिकी नागरिक हुनु हुन्छ भने चुनावमा भोट दिन सबै भन्दा पहिला तपाईँले मतदाता नामावलीमा आफ्नो नाम दर्ता (भोटर रजिस्ट्रेसन) गराउनु पर्ने हुन्छ।
अमेरिकामा राज्य अनुसार भोटर रजिस्ट्रेसन गर्ने समयवादी फरक फरक छ। पेन्सिल्भेनियामा भने भोली अर्थात् अक्टोबर २१ तारिख सोमबार अन्तिम दिन हो।
त्यसैले तपाई अमेरिकी नागरिक हुनुहुन्छ र नोभेम्बर पाँच तारिख सम्म १८ वर्ष उमेर पुग्दै हुनुहुन्छ भने अहिले नै नाम दर्ता गर्न सक्नु हुन्छ। यहाँ सम्म की अक्टोबर पाँच तारिख सम्म तपाईँले अमेरिकी नागरिकता प्राप्त गरिसक्नु भएको छ भने पनि यस पटक भोट दिन पाउनु हुने छ।
तपाई अन्य राज्यबाट ३० दिन अगाडि बसाई सरेर आउनु भएको हो भोट दिन पाउनु हुने छ। तर त्यसका लागि पनि भोटर रजिस्ट्रेसन गर्नु पर्ने हुन्छ। पेन्सिल्भेनिया राज्य भित्र तपाईँले घर वा डेरा सर्नु भएको छ पनि त्यस बारेमा जानकारी दिनु पर्ने हुन्छ।
तपाईँले पहिले नै नाम दर्ता गर्नु भएको छ तर ठेगान परिवर्तन छैन भने पुन रजिस्ट्रेसन गर्नु पर्दैन। तपाईँले पहिला दर्ता गर्नु भएको छ छैन भन्नेमा दुबिधा छ भने यो लिङ्कमा गएर आफ्नो विवरण राख्नु भयो भने क्षणभरमा थाहा पाउनु हुने छ।
अमेरिकाको चुनावलाई विश्वले नै चासो राख्ने गर्दछ। यो चुनावमा पेन्सिल्भेनियाको मत निर्णायक बन्न सक्ने अनुमान गरिएको छ। त्यसमा पनि नेपाली भाषा बोल्नेहरूको मत झनै महत्त्वपूर्ण मानिएको छ।
पेन्सिल्भेनियामा यस अगाडि दुई पटकको चुनावमा राष्ट्रपतिका लागि हारजितका लागि एक प्रतिशत मतको अन्तर रहेको थियो। अमेरिकामा नेपाली भाषीको मत पाँच प्रतिशत रहेको जनाइएको छ। त्यसमा पनि भुटानी समुदायको मत अत्यधिक छ।
तपाईँले भोटर रजिस्ट्रेसन गरे पछि मत दिनका लागि तीन प्रकारको व्यवस्था छ। तपाई मतदान केन्द्रमा जान सक्नु हुन्न वा त्यो दिन तपाईँको काममा छुट्टी हुँदैन भने हुलकाबाट मत पत्र मगाएर पनि आफूलाई इच्छा लागेको उम्मेदवारलाई मत दिन सक्नु हुने छ।
अक्टोबर २९ तारिख सम्म हुलाकबाट मत पत्र मगाउन सकिन्छ। हुलकाबाट आएका मतपत्रमा मतदान गरे पछि नोभेम्बर पाँच तारिख पाँच तारिख भन्दा अगाडि सम्म सम्बन्धित ठाउँमा फिर्ता पठाइ सक्नु पर्ने हुन्छ।
त्यस बाहेक नोभेम्बर पाँच भन्दा अगाडि मतदान केन्द्रमा गएर भोट दिन पनि सक्नु हुन्छ। त्यसलाई अर्लिभोटिङ्ग भनिन्छ।
भोटर रजिष्ट्रेशन र मतदान बारे तपाईलाई थप जानकारी आवश्यक भएमा एशियाली रिफ्युजी युनाइटेडले नेपाली र अंग्रेजी भाषामा तयार पारेको यो जानकारी मुलक सन्देश हेर्न सक्नु हुने छ।