पाकिस्तानमा पीटीआईका ३५ बढी कार्यकर्ता पक्राउ

काठमाडौं । पाकिस्तानको लाहोर सहरमा, पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका ३५ भन्दा बढी कार्यकर्तालाई प्रदर्शनअघि नै पक्राउ गरिएको छ।
पिटिआईले अक्टोबर १५ मा राजनीतिक मुद्दाहरूको विरोधमा प्रदर्शन गर्ने घोषणा गरेको थियो। लाहोर प्रहरीले डिफेन्स, कोट लखपत, र जोहर टाउन जस्ता विभिन्न क्षेत्रमा छापा मार्दै प्रदर्शनमा संलग्न हुनसक्ने व्यक्तिहरूलाई पक्राउ गरेको हो।
यो प्रहरी कारबाही पाकिस्तानले अक्टोबर १५ र १६ मा आयोजना गर्ने साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनको सन्दर्भमा भएको हो।
कानून व्यवस्था कायम राख्न र प्रदर्शनको कारण कुनै अवरोध नआओस् भनेर प्रहरीले कडा कदम चालेको छ। पीटीआई को नेतृत्वले यस दिनलाई राजनीतिक विरोधका रूपमा प्रदर्शन गर्ने योजना बनाएको थियो, जसले सरकार र पिटिआईबीच तनाव उत्पन्न गराएको छ।
पीटीआई का केन्द्रीय सूचना सचिव शेख वकास अकरमले प्रदर्शनलाई ‘शक्तिशाली’ बनाउन आह्वान गरेका थिए, र पिटिआईले सरकारद्वारा गरिएको गिरफ्तारी र छापाबारीलाई गैरकानूनी ठहर गर्दै विरोध जनाएको छ। पीटीआई का नेता इमरान खानको जीवन जोखिममा रहेको भन्दै पार्टीले प्रदर्शनको तयारी गरिरहेको छ।
यसैबीच, उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले राष्ट्रिय हितका लागि प्रदर्शन आह्वान फिर्ता लिन पीटीआई लाई आग्रह गरेका छन्।