नेपाल आउँदा टिभी, मोबाइल र सुन कति ल्याउन पाइन्छ?
काठमाडौं। के तपाईं वैदेशिक रोजगारीमा हुनुहुन्छ या अरु कुनै कामले देश बाहिर हुनुहुन्छ, अनि नेपाल फर्केन तयारी गर्दै गर्दा तपाईलाई टिभी लैजान मन लागेको होला? कतिले मोबाइलकाे माग गर्नु भएको छ होला भने साथीहरुले मदिरा नै ल्याउन आग्रह गरेका छन् होला ? यदी यस्तो हो भने नेपाल सरकारले तोकेको मात्राअनुसार मात्र सामान ल्याउनुहोला। अन्यथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कानूनी उल्झनमा पर्न सक्नुहुन्छ, जसका कारण तपाईंले ल्याएका सामान जफत हुनसक्छन् वा भन्सार महसुल तिर्नुपर्ने हुन सक्छ।
त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका अनुसार:
महिलाले ५० ग्रामसम्मको सुनको गहना भन्सार नतिरी ल्याउन सक्छन्, जबकि पुरुषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन।
थप २०० ग्रामसम्म सुनको गहना भन्सार महसुल तिरेर ल्याउन पाइन्छ। तर पुरुषले २२५ ग्राम र महिलाले २५० ग्रामभन्दा बढी सुनको गहना बोकेमा बढी भएजति जफत हुन्छ।
काँचो सुनको हकमा १०० ग्रामसम्म ३ प्रतिशत महसुल तिरेर ल्याउन सकिन्छ। तर बेरुवा सुनको गहना भन्सार कार्यालयले मान्यता नदिने भएकोले त्यसमा छुट हुँदैन।
मोबाइल:
आफूले प्रयोग गरिरहेको मोबाइल ल्याउँदा भन्सार लाग्दैन।
श्रम स्वीकृति लिएका र ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका श्रमिकले थप एक मोबाइल भन्सार नतिरी ल्याउन सक्छन्, तर भन्सार कार्यालयमा स्वघोषणा गर्नु जरूरी छ।
टेलिभिजन:
श्रम स्वीकृति लिई १२ महिना लगातार काम गरी फर्केका र सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकले जुनसुकै आकारको टीभी ल्याउँदा भन्सार तिर्नु पर्दैन।
सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका तर १२ महिना काम गरी फर्केका श्रमिकले ३२ इन्चको टीभी भन्सार नतिरी ल्याउन सक्छन्।
यदि तपाईं कुनै पेशामा हुनुहुन्छ भने, त्यससँग सम्बन्धित उपकरणमा भन्सार लाग्दैन। जस्तै संगीतकर्मीले वाद्ययन्त्र वा खेलाडीले खेलकुद उपकरण ल्याउँदा भन्सार नलाग्नेछ।
मदिराको हकमा:
एक लिटरसम्मको मदिरा भन्सार नतिरी ल्याउन पाइन्छ, तर त्यो भन्दा बढी ल्याएमा भन्सार तिर्नुपर्ने हुन्छ।