गाजाको जबलिया शरणार्थी शिविरमा ३३ जना प्यालेस्टिनीको मृत्यु
काठमाडौं। इजरायली सेनाको आक्रमणले उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा कम्तीमा ३३ जना प्यालेस्टिनीको मृत्यु भएको छ, जबकि दर्जनौं घाइते भएका छन्। पछिल्ला २४ घण्टामा इजरायली सेनाले आफ्नो सैन्य कारबाहीलाई तीव्र बनाएर बमबारी जारी राख्दा यो दुखद घटना घटेको हो। गाजाको सिभिल डिफेन्स अथोरिटीले इजरायली युद्धक विमानहरूले जबलिया क्षेत्रमा व्यापक बमबारी गरेको पुष्टि गरेको छ।
स्थानीय स्रोतहरू र प्रत्यक्षदर्शीका अनुसार इजरायली सेनाले घर–घरमा समेत बमबारी गरी ठूलो विस्फोट गराएको थियो। यस बमबारीमा बालबालिका र महिला सहित २५ जनाको शव उद्धार गरिएको र ९६ जना घाइते भएका छन्। चिकित्सा टोलीले सिन्ह्वा समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार ठूलो मानवीय क्षति भएको छ।
विश्वव्यापी चिकित्सा परोपकारी संस्था “डाक्टर्स विदाउट बोर्डर्स” ले एक विज्ञप्ति जारी गर्दै जबलिया क्षेत्रमा हजारौं प्यालेस्टिनीहरू अझै पनि फसेको बताएको छ।
यसैबीच, गाजामा जारी इजरायली आक्रमणका कारण अहिलेसम्म मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार १७५ पुगेको छ। गाजाको अवस्था अझै पनि जटिल रहँदा, स्थानीय बासिन्दाहरूले ठूलो मानवीय संकटको सामना गरिरहेका छन्।