दशैंको विदामा प्रेस काउन्सिलले मिडिया नियमन जारी राख्ने

काठमाडौं। प्रेस काउन्सिल नेपालले दशैंको विदामा समेत मिडियाको नियमन निरन्तर गर्ने निर्णय गरेको छ। बुधबार जारी गरिएको एक प्रेस विज्ञप्तिमा काउन्सिलले दशैंको समयमा आउने उजुरी र गुनासाहरुको अनुगमन र सुनुवाई हुने जानकारी दिएको छ।
सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराले काउन्सिलको अनलाइन उजुरी प्रणाली र वेबसाइटमा उजुरीका लागि तोकिएको ठेगानामा इमेल गर्न सकिने कुरा उल्लेख गरेका छन्।
प्रेस काउन्सिलले बडा दशैँ, तिहार, छठ र नेपाल संवत् ११४५ को अवसरमा सम्पूर्ण सञ्चार माध्यम, सञ्चाकर्मी, पत्रकार र आम नागरिकलाई शुभकामना प्रदान गरेको छ। काउन्सिलले चाडपर्वहरुले राष्ट्रिय एकता, भातृत्व र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने भएकाले यसलाई कायम राख्न सञ्चारमाध्यमको अहम भूमिका हुने जनाएको छ।
काउन्सिलले चाडपर्वका समयमा पनि सञ्चारकर्मी, पत्रकार र आम सञ्चार माध्यमले सही सूचना प्रवाह गर्ने जिम्मेवारी रहेको उल्लेख गर्दै गलत, उत्तेजक, अफवाह फैलाउने र धार्मिक, सांस्कृतिक एवं सामाजिक सद्भाव बिगार्ने सामग्री प्रकाशन र प्रसारण नगर्न आग्रह गरेको छ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियाकर्मीलाई हरसमय तथ्यपूर्ण, मर्यादित र जिम्मेवार पत्रकारिता गर्नुपर्ने आवश्यकता रहेको र यसैले काउन्सिलले विदाको अवधिमा पनि नियमनको काम जारी राख्ने निर्णय गरेको बताएका छन्।
साथै, काउन्सिलले भ्रामक, अश्लील एवं अमर्यादित सामग्रीको सम्प्रेषण नगर्न तथा व्यक्तिगत गोपनीयताको उल्लङ्घन गर्ने सामग्री पनि प्रसारण नगर्न आग्रह गरेको छ। सञ्चारकर्मी, आम पत्रकार र सञ्चार माध्यमअन्तर्गत रहेका युट्यूब च्यानल तथा सामाजिक सञ्जालका प्रयोगकर्ताहरूलाई यस्ता सामग्रीको प्रवाह नगर्न सचेत गराइएको छ।