जापानमा हराएको पैसा फिर्ता पाउँदाको अनुभव
कुमार मोक्तान
ताचिकावा, जापान । एक जना दिदीले कारोबारको पैसा ल्याई दिनु भएको थियो। पैसा खाममा हालेर दिनु भएको थियो। मैले खाममा दिदीको नाम लेखेर लकरमा राखे। खाना खाने ब्रेकमा घरमा जान्छु भन्ने सोच्दै खामलाई ज्याकेटको खल्तिमा राखेर साईकलमा घरतिर गएँ।
खाना खाएर पैसा राख्नुपर्छ भनेर खल्ति छामेँ, तर खाम थिएन। लकरमा छोडें कि भन्ने लाग्यो। केही समय आराम गरेर कम्पनिमा फर्केर लकर चेक गर्दा खाम नदेखेपछि ठूलो फसाद भयो। चिन्ता लाग्न थाल्यो। कम्पनीबाट घरसम्मको बाटो चेक गर्दै गएँ, तर बाटोमा पैसा भेटिएन। कम्पनीमा आएर फेरि लकर र वरिपरि चेक गरें, तर पैसा भेटिएन।
त्यसपछि मैले कम्पनीको स्याइनसंग सल्लाह गरें, जसले मलाई प्रहरीमा जान सल्लाह दिनुभयो। म नजिकैको सानो प्रहरी बुथमा गएँ, तर त्यहाँ कोही थिएन। प्रहरीहरू पेट्रोलिङमा गएकोले मलाई सुचना भित्रको टेबुलमा राखिएको फोन उठाउन भनियो। मैले सूचनामा लेखिए अनुसार गरें र दुई-तीन घण्टामा फोन उठ्यो।
प्रहरीले आफ्नो परिचय दिँदै के समस्या परेको छ भनेर सोध्यो। मैले हराएको पैसा बारे कुरा राखें। उनले हराएको कि चोरी भएको हो, कता हराएको, पैसा कति थियो, केमा राखिएको थियो? लगायतका जानकारी सोध्नुभयो। मैले सबै कुरा भनें।

उताबाट मेरो विवरणसँग मिल्ने खाम भर्खरै प्रहरीकोमा आएको कुरा थाहा पाएँ। मलाई कन्फर्म गरेर पैसा लैजान नजिकैको अर्को प्रहरी बुथमा जान भनियो। हराएको पैसा भेट्टाउनुको आशा जाग्यो।
जापानमा हराएको सामान र पैसा भेट्नु अनौठो कुरा होइन, किनकि अधिकांश जापानीहरू भेटाएको सामान र पैसाहरू लिंदैनन्। यदि कसैले बाटोमा केही सामान खसेको देख्यो भने, सामानको धनीले देखोस् भनेर सबैले देखिने ठाउँमा राखिदिन्छन्।
अर्को प्रहरी बुथमा गएँ। बुथ अगाडि साईकल राखेर भित्र पसेको बित्तिकै पैसा हराएको मान्छे हो भनेर सोधे। मैले हजुर भनेँ। फेरि पैसासँग सम्बन्धित सबै कुरा सोध्नुभयो। पैसा कति थियो, कति कतिको नोट थियो, कुन रंगको खाममा थियो, खाममा केही लेखिएको थियो कि थिएन, र कता गएको र कहां हराएको भन्ने सबै कुरा सोध्नुभयो।
सबै कुरा भ्याएकोपछि, मेरो पैसा हो भन्ने कुरा कन्फर्म गरियो। बुथको ईन्चार्ज बाहिर गएर एकछिनमा फर्केर आएपछि पैसा दिनु अघि हराएको रिपोर्ट लेख्न लगाइयो। रिपोर्ट लेखिसकेपछि, बुथको ईन्चार्जले भित्रबाट पैसाको खाम ल्याएर “यही हो?” भनेर सोध्दा, मैले हो भनेपछि मलाई पैसा दिए।
मैले सुनेको थिएँ कि जापानमा पैसा भेटाउनेलाई केही पुरस्कार दिने चलन छ। मैले पैसा लिंदै त्यहाँ पैसा भेटाएर दिने असल मान्छेलाई धन्यबाद भन्न चाहन्छु। तर, त्यो असल जापानीले आफुलाई केही पनि नचाहिने कुरा प्रहरीलाई भनेको रहेछ।
जापानमा हराएको ठुलो रकम भेटायो भनेको सुनको, मैले अनुभव पनि गरें। बाटोमा भेटाएको पैसा प्रहरीसम्म पु¥याइदिने असल मनको धनी जापानी नागरिकलाई हृदयदेखिको धन्यबाद। मैले हराएको पैसा १ लाख ५ हजार जापानी येन थियो।















