मेरिल्याण्डमा दशैँ डे मनाइयो

मेरिल्याण्ड/ अमेरिकाको मेरिल्याण्ड राज्यको संसदले पारित गरी गभर्नर वेज मुरले प्रोक्लोमेसन जारी गरी गत वर्ष देखि आधिकारिक रूपमा मनाउन थालिएको दशैं डे कार्यक्रम शनिवार भव्य रूपमा सम्पन्न भएको छ ।
विविधता र दशैं भन्ने मुख्य नाराका साथ मनाइएको उक्त कार्यक्रममा अमेरिकाका प्रभावशाली सिनेटर क्रिस भ्यान होलेन, मेरिल्याण्ड राज्यकी डेपुटी गभर्नर अरुणा मिलर, वाल्टिमोर काउन्टीका काउन्टी एक्जुकेटिभ एवं कंग्रेसनल उम्मेदवार जोनी ओ ओल्जेस्की, वाल्टिमोर काउन्टी काउन्सिलका अध्यक्ष जुलियन जोन्स, सिनेटर क्याथी क्लाजमार, डेलिगेटहरु स्कट फिलिप, निक एलन लगायतका निर्वाचित प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी सिनेटर क्रिस भ्यान होलेनले अमेरिका विविधता मार्फत प्रजातान्त्रिक अभ्यास अपनाउँदै आएको देश भएको बताए।
‘यहाँ हरेक भाषा र संस्कृतिको उत्तिकै सम्मान र समावेशीतालाई उच्च प्राथमिकतामा राखिएको छ ।’ उनले भने।
सिनटेर होलेनले आगामी नोभेम्बरमा हुने चुनावमा कमला हरिसलाई मतदान गर्नको लागि नेपाली तथा सम्पूर्ण एशियाली मूलका नागरिकहरूलाई अनुरोध गरे।
‘सन् २०२० को निर्वाचनमा अमेरिकन एसियन कम्युनिटीका व्यक्तिहरुले मतदानमा भाग लिएर अग्रणी भूमिका खेलेका छन्, यस पटक पनि मतदानमा भाग लिएर आप्रवासीको एजेण्डालाई अमेरिकाको एजेन्डाको रूपमा स्थापित गर्न मतदाताहरूलाई आग्रह गर्दछु।’ सिनेटर होलेनले भने।
उनले गत वर्ष आफूले गरेको नेपालको भ्रमण र न्यानो आतिथ्ययताको स्मरण समेत गरे।
कोरोनाको वेलामा विश्वव्यापी रूपमा खोप वितरणमा सिनेटर भ्यान होलेनको कार्यालयले महत्त्वपूर्ण समन्वय गरेर नेत्रित्वदायी भूमिका निर्वाह गरेको थियो ।
कार्यक्रममा मेरिल्यान्ड राज्यकी डेपुटी गभर्नर अरुणा मिलरले मेरील्यान्ड राज्यले दशैं सम्बन्धी बिल पारित गरेर अमेरिकाभरि नै अग्रणी राज्यको रूपमा रहेको उल्लेख गरे।

उनले अमेरिकी भूमि असीमित अवसरहरू भएको र सोही अवसरका कारण ह्यारी र आफू स्वयं यहाँको राजनीतिमा स्थापित हुन सफल भएको बताए।
कार्यक्रममा बाल्टिमोर काउन्टीका काउन्टी एक्जियुकेटिभ एवं कंग्रेसनल चुनावका उम्मेदवार जोनी ओल्जेस्कीले अमेरिकामा अनेकन सांस्कृतिक, सामाजिक सामन्जस्यता रहेको उल्लेख गर्दै नेपाली समुदायले मेरील्यान्डमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे। उनले मेरिल्यान्ड राज्यमा रहेका आप्रवासीहरूको अधिकारको लागि सदैव आफू अग्रपंक्तिमा उभिएर काम गर्न तयार रहेको बताए।

नेपाली मूलका पहिलो डेलिगेट डाक्टर ह्यारी भण्डारीले दशैं शान्ति र एकताको प्रतीक भएकाले यसले बसुधैव कुटुम्बकम भन्ने मान्यताका साथ विश्वव्यापी रूपमा सद्भाव र ममताको सन्देश सम्प्रेषण गर्न सफल भएको बताए।
सिनटेर क्रिस भ्यान होलेनले गरेको अहिले सम्म कै वैदेशिक सम्बन्धका बारेमा उनको अमेरिका र संसार भरि उहाँको नेतृत्वको महत्त्वपूर्ण प्रभाव बारेमा भण्डारी ले जानकारी गराउनु गराए।
मेरिल्याण्ड राज्यको डिष्टिक ८ मा भएको उक्त कार्यक्रममा दशैं सम्बन्धी विभिन्न नृत्यहरू प्रस्तुत गरिएको थियो ।
उक्त कार्यक्रममा स्वस्ति वाचन ,नेपाली पञ्चेबाजा ,तान्त्रिक नृत्य,नेपाली नृत्य ,नेपाली संस्कृति झल्कने पोशाक, चिनियाँ क्वांग नृत्य,राजस्थानी नृत्य, मैथली नृत्य लगायतका विभिन्न व्यक्ति तथा समूहहरूले सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरेका थिए ।

उक्त नृत्यको लागि यज्ञमान कायस्थ, अमित शाह, अमृत रामदाम,गायत्री गुप्ता,पिंग वु ले समन्वय गरेका थिए। साथै आगन्तुकहरूलाई पञ्चकन्याले स्वागत गरेका थिए उनीहरूको समन्वय माधवी भण्डारी, ईशा गुरुङ र सृजना न्यौपानेले गरेका थिए। कार्यक्रमको समन्वय तीर्थ पाण्डेयले गरेका थिए।
उक्त कार्यक्रममा मेरील्यान्ड,भर्जिनिया,पेन्सिलभेनिया,न्यु जर्सी,न्यु योर्क लगायतका ठाउँबाट नेपाली मूलका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
अमेरिकाको मेरील्यान्ड राज्यले दशैं डे सम्बन्धी विधेयक पारित गरेर अक्टोबर ५ लाई दशैँ डेको रूपमा मान्यता दिएको छ ।
उक्त विधेयक पारित गराउन नेपाली मूलका पहिलो डेलिकेट ह्यारी भण्डारीले संसद् समक्ष विधेयक पेश गरेका थिए। उक्त विधेयकलाई दुवै सदनले अनुमोदन गरेर गभर्नर वेज मधुरले सन् २०२२ प्रमाणीकरण गर्नु भएपछि सन् २०२३ देखि दशैं डेको रूपमा मनाउन थालिएको छ ।
शनिवार आयोजना गरिएको कार्यक्रममा अमेरिकी राष्टपतिका उम्मेदवार कमला हयारीस , मेरिल्यान्डकी सिनेटरकी उम्मेदवार एञ्जिला अल्सोबु्रक , कंग्रेसनल उम्मेदवार जोनी ओ लगायतका उमेदवारहरुको प्रचार प्रसार समेत गरिएको थियो ।
फोटोहरु ह्यारि भण्डारीको सचिवालय