बूढासुव्वालाई दसैँ कप उपाधि

कृष्णराज खनाल
नर्थ क्यारोलिना । बूढासुब्बा एफसीले दसैँ कपको उपाधि चुमेको छ ।
शनिवार यहाँको एपेक्सस्थित एपेक्स पार्कमा आयोजित खेलमा बूढासुब्बाले सगरमाथा एफसीलाई २१ ले पराजित गरी उपाधि चुमेको हो । प्रतिस्पर्धात्मक सो खेल ११ को बराबरीपछि बूढासुब्बाका तर्फबाट राजन रेग्मीले फ्रिकिकमार्फत गोल थपेर टिमलाई विजयी बनाएका हुन् ।
सन् २०१७ देखि विजया दशमीको पावन अवसर पारेर हरेक वर्ष आयोजना हुँदै आएको खसी कप केही वर्षदेखि भने दसैँ कपका नामले सञ्चालन हुँदै आएको छ । प्रतियोगिता कोभिडको समय २०२० र २०२१ मा दुइ वर्ष सञ्चालन हुन सकेन ।
नर्थ क्यारोलिनाको सदरमुकाम राले वरपर केरी, एपेक्स, मोरिसभिल, क्लेटन, फुके भरिना, होली स्प्रिंग, गार्नर आदि क्षेत्रमा वसोवास गर्ने नेपालीहरुलाई मनोरञ्जन दिन र दसैँको अवसरमा भेटघाट र शुभकामना आदानप्रदान पनि होस् भन्ने अभिप्रायले यो कप आयोजना गरिएको हो ।
प्रतियोगितामा नेपालका चर्चित स्थान तथा हिमालयको नामबाट आठवटा टिम समावेश गरिएको थियो । जसमा लोमाथांग, धौलागिरी, कालापानी, सगरमाथा, बूढासुब्बा, गोसाइँकण्ड, तिलिचो र कालापत्थर थियो । यी आठ टिमबाट लिगकम नकआउटका आधारमा सेप्टेम्वर १३ देखि अक्टोवर ५ सम्म हरेक हप्ता खेल सञ्चालन गरिएको थियो । प्रतियोगितामा करिब एक सय ६० खेलाडीले मैदानमा आआफ्नो प्रतिभा, दक्षता र क्षमता देखाएका थिए ।
प्रतियोगिताका आयोजक समितिले प्रतियोगिता सुचारु रुपले सञ्चालन भएकोमा प्रायोजक संघसंस्था तथा व्यक्तिहरु सबैलाई धन्यवाद ज्ञापन गरेको छ । प्रतियोगिता आयोजनाका लागि विकास सापकोटा, उत्तम निरौला, जीवन न्यौपाने, अनुप अर्याल, सन्तोष गौतम, समय लामिछाने आदि सम्मिलित युवाहरुले आयोजक समिति गठन गरेका थिए । समितिका सदस्य विकास सापकोटाका अनुसार यो प्रतियोगितामा तीन चार सय दर्शकहरु उपस्थित थिए । उहाँले यतिधेरै स्नेह दिएर ठूलो संख्यामा नेपाली दर्शकहरु उपस्थित हुनु नै यसको सफलता हो भने।

प्रतियोगिताका विजयी, उपविजयी खेलाडीहरुलाई एपेक्स नगर प्रमुख ज्याक गिलवर्ट, काउन्सिलम्यान केरी महाफी, फुके भरिना कमिस्नार व्रायन हेन्स, वेक काउन्टी शिक्षा विभाग प्रमख लिन्जी महाफी र एनसीएनसीका अध्यक्ष विकास शाक्यलगायतले पदक, प्रमाणपत्र तथा ट्रफी प्रदान गरे।
फाइनल प्रतियोगिता अघि प्रतियोगिताका दौरान खेल्न नपाएर वेञ्चमा नै बस्न वाध्य भएका खेलाडीहरुलाई लक्ष्यित गरी सोकेस खेल पनि आयोजना गरिएको थियो ।
प्रतियोगितामा विजयी टिमका गणेश दाहाल वेष्ट प्लेयर अफ दि म्याच बनेका थिए ।

यस अघि अघिल्लो शनिवार सगरमाथा र गोसाइँकुण्ड तथा बूढासुब्बा र लोमाथांगबीच सेमिफाइनल खेल भएकोमा बूढासुब्बा र सगरमाथा आआफ्ना प्रतिद्धन्द्धीलाई हराएर फाइनलमा प्रवेश गरेका थिए ।
एपेक्स निवासी रवि मरहठ्ठाले प्रतियोगिता निकै रमाइलो भएको र नयाँ नयाँ प्रतिभा देखिएकोमा खुसी पनि व्यक्त गर्दै उहाँले आगामी वर्ष यो भन्दा बढी प्रतिस्पर्धात्मक हुने संभावना पनि जनाए।