राष्ट्रपति पौडेलले गरे दक्षिणकालीको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज बडादसैँको अवसरमा आफ्नी धर्मपत्नी सबिता पौडेलसहित काठमाडौंको दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन्।
उनले दक्षिणकाली माताको पूजा गरी मन्दिरका पूजारीबाट टीकाप्रसाद ग्रहण गरे।
दक्षिणकाली मन्दिर काठमाडौं उपत्यकाको प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ। मन्दिर रहेको क्षेत्र दक्षिणकाली नगरपालिकामा पर्छ, र यस क्षेत्रलाई हालै आएको बाढीले निकै क्षति पुर्याएको छ।
यसै सन्दर्भमा, नगर प्रमुख मोहन बस्नेतले राष्ट्रपति पौडेललाई बाढीले पुर्याएको क्षतिको विवरण प्रस्तुत गर्दै, पीडितलाई राहत र मन्दिर क्षेत्रको पुनःनिर्माणका लागि सहयोगको आग्रह गर्नुभयो। साथै, काठमाडौँ-मकवानपुर सडकको छिटो पुनःनिर्माण गरी यातायातलाई सहज बनाउनुपर्नेमा पनि जोड दिए।
राष्ट्रपति पौडेलले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै, मन्दिर क्षेत्रको पुनःनिर्माण र पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे।
राष्ट्रपति पौडेलको आगमनका क्रममा स्थानीय जनप्रतिनिधिहरू, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सर्वसाधारणले उनलाई स्वागत गरेका थिए।