खनिज आपुर्तिमा अमेरिका र भारतले सहकार्य गर्ने

पेन्सिल्भेनिया। संयुक्त राज्य अमेरिका र भारतले स्वच्छ ऊर्जा प्रविधिहरूका लागि महत्त्वपूर्ण खनिजहरूको आपूर्तिमा सहकार्य गर्ने सम्झौता गरेका छन्।
अमेरिकी वाणिज्य मन्त्रालयले बिहीबार जानकारी दिए अनुसार, अमेरिकी वाणिज्यमन्त्री जिना रायमन्डो र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलले वासिङ्टनमा महत्त्वपूर्ण खनिजहरूको आपूर्ति शृङ्खलालाई विस्तार र विविधीकरण गर्न सम्झौतामा हस्ताक्षर गरेका छन्।
यस समझदारीको मुख्य उद्देश्य महत्त्वपूर्ण खनिज क्षेत्रमा लचिलोपन बढाउनु हो। दुवै देशले महत्त्वपूर्ण खनिजहरूको खोज, निष्कर्षण, प्रशोधन, शुद्धीकरण, पुनःचक्रण, र पुनःप्राप्तिको व्यावसायिक विकासलाई प्रोत्साहन गर्ने तरिकाहरू पहिचान गर्नेछन्।
विद्युतीय सवारी साधनहरूको बेट्रीजस्ता स्वच्छ ऊर्जा प्रविधिहरूका लागि आवश्यक दुर्लभ पृथ्वी तत्व र खनिजहरूको महत्त्व बढ्दै गएको छ, र अमेरिकाले यस्तो माग पूरा गर्दा आपूर्ति अभावको चुनौती सामना गर्नुपर्ने देखिएको छ।
चीन यस आपूर्ति शृङ्खलामा प्रमुख खेलाडी रहेको हुँदा अमेरिका र भारतले सेमीकन्डक्टरहरूमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। भारतीय मन्त्री गोयलले सामाजिक सञ्जाल एक्समा भारत–अमेरिका व्यापार साझेदारीलाई नयाँ उचाइमा लैजाने योजना व्यक्त गरेका छन्।
यसअघि, अमेरिका र जापानले पनि आपूर्ति शृङ्खलालाई सुदृढ गर्न महत्त्वपूर्ण खनिज व्यापार सम्झौता गरेका थिए, जसमा ढुवानी गरिएका खनिजहरूमा निर्यात शुल्क नलगाउने प्रतिबद्धता जनाइएको थियो।