मेक्सिकोमा आप्रवासी चढेको ट्रकमा गोली चलाउँदा ६ को मृत्यु

पेन्सिल्भेनिया। मेक्सिकन सेनाले एक ट्रकमा चढेका आप्रवासीहरूलाई लक्षित गर्दै गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ। मंगलबार साँझ ग्वाटेमालासँगको सीमाबाट करिब ४० किलोमिटर उत्तरमा भएको यो घटनामा थप १० जना घाइते भएको त्यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ।
ट्रकमा ३३ जना आप्रवासीहरू सवार थिए । जसमा नेपाल, भारत, पाकिस्तान, इजिप्ट, क्यूबा र अरबी नागरिकहरू रहेका थिए। रक्षा मन्त्रालयका अनुसार, मृतकमा ४ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा मृत्यु भएको छ । तर मारिएका व्यक्तिहरू कुन देशका नागरिक हुन् भन्ने खुलाइएको छैन।
बच्न सफल १७ आप्रवासीलाई अध्यागमन अधिकारीसमक्ष बुझाइएको छ। बीबीसीका अनुसार, सैनिकहरूले सीमा गस्ती गर्दै गर्दा आप्रवासी चढेको गाडीबाट विस्फोटको आवाज सुनेपछि गोली चलाएका थिए। यद्यपि ट्रकमा विस्फोट भएको पुष्टि भने भएको छैन।
समाचार संस्था रोयटर्सका अनुसार मेक्सिको–ग्वाटेमाला सीमाक्षेत्रको दक्षिण चियापास राज्यको हुइस्टलामा चेकपोष्टमा ट्रकलाई रोक्न खोजेका थिए, तर ट्रक नरोकिएपछि गोली चलाइएको हो। गोली चलाउने सैनिकहरूलाई निलम्बन गरिएको छ।
अवैध बाटोबाट अमेरिका प्रवेश गर्नेहरू मेक्सिको–ग्वाटेमाला सीमाक्षेत्रको दक्षिण चियापाको रुट प्रयोग गर्दै आएका छन्। मानव तस्करहरूले नेपाललगायतका मुलुकका युवाबाट ठूलो रकम लिएर जोखिमपूर्ण यात्रा गराउँदै उक्त बाटोबाट अवैध रूपमा अमेरिका छिराउने गरेका छन्।
पछिल्लो समय, मेक्सिकोले त्यसरी प्रवेश गर्नेहरूविरुद्ध कडा कारबाही गर्न थालेको छ। अमेरिकाले सीमामा हुने त्यस किसिमका गतिविधि रोक्न मेक्सिको सरकारलाई चेतावनी दिँदै आएपछि मेक्सिकोले सीमाक्षेत्रमा कडाई गर्न थालेको जनाएको छ।