वैदेशिक रोजगारी प्रलोभनमा पारेर ठगी गर्ने ३ जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारको प्रलोभनमा पारेर ग्रीस, दुबईलगायतका देशहरूमा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्तिहरूमा भक्तपुर नगरपालिका-९ गच्छेटोल घर भई काठमाडौं टोखा नगरपालिका-७ बस्ने ३४ वर्षीय सुदन राज अमात्य, नुवाकोट तादी गाउँपालिका-३ घर भई टोखा नगरपालिका-९ नयाँबसपार्क बस्ने २८ वर्षीया अन्जना चौलागाई, र गुल्मी मालिका गाउँपालिका-६ घर भई ललितपुर महानगरपालिका-२ गोदावरी बस्ने ३५ वर्षीया बिन्दु केसी रहेका छन्।
सुदनले ५ लाख रूपैयाँ, अन्जनाले २ लाख ९० हजार रूपैयाँ, र बिन्दुले १ लाख ५ हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीको आधारमा प्रहरीले उनीहरूलाई क्रमशः पुतलीसडक, नयाँबसपार्क, र गोदावरीबाट पक्राउ गरेको हो।
उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।