बाढी पहिरोको क्षतिले पीडाबोध भएको छ : पूर्वराजा ज्ञानेन्द्र
काठमाडौँ। पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी र पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालीहरूको जीवन गुमेको, घाइते हुनु परेको र व्यक्तिगत सम्पत्ति गुमाउनु परेको समाचार सुनेर अत्यन्त पीडाबोध भएको बताएका छन्।
आइतबार जारी गरिएको विज्ञप्तिमा, पूर्व राजा ज्ञानेन्द्रले उल्लेख गरेका छन् कि भारी वर्षा हुने पूर्वानुमान रहँदासमेत तत्परता र पूर्व प्रतिकार्यमा कमी हुँदा यति ठूलो मानवीय र भौतिक क्षति हुनु दुखदायी कुरा हो।
उनीले भनेका छन्, “हाम्रो जस्तो पर्वतीय मुलुकमा बाढी, डुवान र भू-क्षयको जोखिम हरेक वर्ष हुने प्रक्रिया हो। त्यसैले, रोकथाम र सजगताको लागि समयमै पर्याप्त व्यवस्थामा ध्यान दिन सके क्षति न्यूनिकरणमा योगदान पुग्नेछ।”
दशै र तिहारजस्ता महत्वपूर्ण चाडहरू नजिक आइरहेका बेला आवागमनका विभिन्न राजमार्ग र सडकहरू अवरुद्ध हुँदा जनजीवनमा परेको असुविधा प्रति उनले गम्भीर चासो व्यक्त गरेका छन्।
पूर्व राजा ज्ञानेन्द्रले मृतक परिवारलाई उचित राहत, बेपत्ता व्यक्तिहरूको खोजी तथा घाइतेहरूको सिघ्र उपचार गर्नका लागि राज्यले तदारुक प्रयास गर्नुपर्नेमा जोड दिएका छन्।
उनले भनेका छन्, “प्रकृति, परिवेश र प्रवृत्ति अनुरूप हाम्रा विकास प्रक्रियाहरू अघि बढ्नुपर्दछ। आफ्नो परिवेशमाथि खेलवाड हुने व्यवस्था र विकास गतिविधिहरूले विपत्ति र विनाश मात्रै निम्त्याउँदछ। यसमा सबैको ध्यान पुग्नुपर्दछ भन्ने हाम्रो दृष्टिकोण हो।”
विज्ञप्तिमा, उनले शोक, वियोग, व्यथा र वेदनाको यो अवस्थामा सबैबाट राहत, उद्धार र उपचारको अपेक्षा गरिएको बताएका छन्। उनले विनाशको यस अवस्थामा पर्याप्त सहयोग, सुव्यवस्था र निगरानीको आवश्यकता रहेको कुरा पनि उल्लेख गरेका छन्।











