अमेरिकाबाट प्रधानमन्त्रीको अपिल ‘विपद्मा हातेमालो गरौं’

पेन्सिल्भेनिया। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्कने तयारीमा रहेको बताएका छन्। असोज ४ गते अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री ओली १४ गते स्वदेश फर्किने तालिका रहेको थियो।
अविरल वर्षासँगै बाढी, पहिरो, र डुबानका कारण भएको विपत्तिमा दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आफ्नो फेसबुकमार्फत लेखेका छन्, “संयुक्त राष्ट्रसंघको महासभामा लगायतका कार्यक्रम सकेर स्वदेश फर्किने तयारीमा छु।” उनले विपद्को बेला हातेमालो गरेर उद्धारमा सहयोग गर्न अपिल पनि गरेका छन्।
प्रधानमन्त्री ओलीले असोज १० गते महासभामा सम्बोधन गरेका थिए। उनले विभिन्न छलफल र साइडलाइन भेटवार्तामा पनि सहभागिता जनाएका थिए।
हालैको बाढी, पहिरो र डुबानले १०० जनाको ज्यान लिएको छ, जसमा काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ। उद्धारकार्यमा केही स्थानमा प्रभावकारी काम नभएको भन्दै सरकारको आलोचना पनि भइरहेको छ।