पेन्सिल्भेनिया र मेरिल्याण्डमा बिकेन ज्योति मगर शैली, रचना रिमाललाई मार
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा रहेको ‘ह्यारिसबर्ग मिडटाउन कला केन्द्र’ मा गत शनिवार साँझ ‘इन्डियन करी’ का स्टाफ अलिक हस्याङफस्याङ गर्दै थिए। घडीले साँझको साँढे ६ बजाउँदै थियो। एके इभेन्ट्सका सिइयो आलोक कार्की सहितको टोली पनि प्रवेश द्वारमा तम्तयार थिए। किनकि साँढे सात बजेबाट त्यहाँ दर्शकको ओइरो लाग्नु पर्ने थियो।
‘अब नाच्छ अमेरिका’ लागि नेपालबाट आएका मोडल तथा गायिका ज्योति मगर, अर्की गायिका शान्ति श्री परियार, रचना रिमाल तथा सामाजिक सञ्जालबाट चर्चामा आएकी नृत्यङ्गना करिश्मा ढकालले ह्यारिसबर्ग नचाउने पालो थियो। तर घडीको सुई बाहेक अन्य कुरा त्यहाँ रोकिए जस्तै भयो। नौ बजे सम्म दर्शकको अत्तोपत्तो थिएन।
‘यस्तो त कहिल्यै भएको थिएन’ आयोजकको कार्ड घाटीमा झुन्डाएका युवा भन्दै थिए। साँढे नौ बजे तिर एक जोडी कार्यक्रम स्थलमा आइपुगे। उनी सडकमा गाडी पार्किङ शुल्क तिर्नु पर्ने नपर्ने बुझ्न आयोजक खोज्दै थिए। साँझ सात बजे देखि फ्री पार्किङ हो भन्ने जानकारी पाए पछि श्रीमती सहित ‘अब नाच्छ ह्यारिसबर्ग’ लागि मेकानिसबर्गबाट आएका भक्त घिमिरे ढुक्क भए।
‘खोइ कार्यक्रम त शुरु हुँदैन क्यार’ दश बजे तिर अर्का दर्शक एक आपसमा सोध्दै थिए। कलाकारहरू अघि नै स्टेट पछाडि कोठामा आराम गरिसकेका थिए।
हलमा मुस्किलले ५०-६० जना जम्मा भए पछि विशाल ढुङ्गाना उद्घोषणका लागि स्टेजमा देखा परे। उता करी हाउसका स्टाफ जिल्ल परिरहेका थिए। आयोजकलाई जस्तै उनीहरूलाई पनि लागेको हो, तीजको छेको पारेर झन्डै ५० हजार नेपाली, नेपाली भाषी भुटानी बस्ने शहरमा आयोजित कार्यक्रममा खुट्टा राख्ने ठाउँ पनि नहुने गरी दर्शक उपस्थित हुन्छन् भन्ने। तर हल त खाली जस्तै भयो।
आयोजकलाई पनि ज्योति मगरको शैली ह्यारिसबर्गमा राम्रै बिक्री हुने अपेक्षा थियो।
गायक पवन बाराकोटीले इतिश्री गरेको कार्यक्रममा रचना रिमालको हातमा माइक पर्दा सम्म हलमा लगभग एक सय मान्छे जम्मा भएका थिए। जसमा एक हुल रचनाकी शिक्षिका सँगै आएका थिए। ‘झापामा मलाई पढाउनु भएको मिस यही हुनुहुन्छ।’ रचना दर्शकमा रहेको ठुलो समूह तर्फ सङ्केत गर्दै थिइन्।
‘यस्तो हुन्छ भनेर सोचेको पनि थिइन्।’ मध्यरातमा शान्ति श्री परिवारले कार्यक्रमको मैजारो गरे पछि स्थानीय आयोजक एके इभेन्टमा सिइयो आलोक कार्की भन्दै थिए।
‘यही हलमा हामीले कालीप्रसाद बास्कोटा, इन्दिरा जोशीको कार्यक्रम गरेका हौ, दर्शक आएकै थिए, केही समय पहिला सुशान्त केसीको कार्यक्रममा पनि हल भरिएको थियो।’ समाज टाइम्स सँग कार्कीले भने, ‘यो पटक हामी आश्चर्यमा परेका छौ।’
उनले कार्यक्रम पुरै घाटा गएको बताए। ‘हामीले कति दर्शकले टिकट काटे भन्ने नै गनेनौ।’ कार्कीले भने।
बाल्टिमोरका आयोजकले पनि घाटा बेहोरेको बताए। बाल्टिमोरमा गैर आवासीय नेपाली संघ (एनआरएनए) मेरिल्यान्ड च्याप्टर स्थानीय आयोजक थियो।
‘हामीले पुरै खर्च विवरण निकाल्न बाँकी छ तर मोटामोटी आठ हजार जति घाटा होला जस्तो छ, टिकट नै बिकेन।’ एनआरएनए मेरिल्यान्ड च्याप्टरका अध्यक्ष कुल गुरुङले समाज टाइम्स सँग भने।
पेन्सिल्भेनियाकै पिट्सबर्गका आयोजकले पनि आफूहरू घाटामा गएको बताए। ‘घाटा नै भयो, मान्छे एक सय जना जति आए, ६५ वटा टिकट बिक्री भएको देखियो।’ समाज टाइम्स सँगको कुराकानीमा श्याम कडरियाले भने। पिट्सबर्गमा आइतबार साँझ कार्यक्रम भएको थियो।
सबै ठाँउका कार्यक्रममा टिकट मूल्य ५० देखि ६० डलर रहेको छ।
‘आफ्नै हल हो, कलाकारलाई बोलेको त दिनै पर्यो, साउन सिस्टम साथीभाइको हो, दश हजार खर्च भयो, त्यसमा दुई दिनको खटाइको त कुरै नगरौँ।’ कडरियाले थपे।
कडरिया कलाकारको छनौट नमिल्दा पनि दर्शक आश्चर्य जनक रूपमा घटेको ठम्याउँछन्। ‘हामीले मह जोडी आउँदा स्कुलको हल नै लिएर कार्यक्रम गरेका हौ, ५-६ सय मान्छे सजिलै आएका थिए, ‘उनले भने, ‘ज्योति मगर र रचना रिमालका दर्शक फरक हुन भन्नेमा चुकिएको जस्तो देखियो।’
ज्योति मगरको शैलीले दर्शक अलिक झस्किएको कडरियाको अनुभव छ। ‘ ज्योति मगरको प्रस्तुति अलिक उद्दण्ड खाल हो भन्ने पाइयो, उनको छविले शान्ति श्री र रचना रिमाललाई खाइदियो।’
ज्योति मगर पछिल्लो समय गायन भन्दा बढी उनको पोसाक, शारीरिक हाउभाउबाट चर्चा बटुल्दै आएकी छन्। उनका कतिपय संवाद दुई अर्थी र अश्लील हुने गरेका छन्।
ह्यारिसबर्गमा छिट्को गुन्यो र मखमली घलेकमा स्टेज प्रवेश गरेकी ज्योतिले दर्शककै अगाडी गुन्यो खोलेकी थिइन्। उनका केही संवाद परिवारका सदस्य सँगै बसेर सुन्न अप्ठेरो लाग्ने थिए।
टेक्ससमा रहेका पत्रकार लेखनाथ गौतम तीजको कार्यक्रममा कलाकार छनौट नै गलत भएको बत्ताउँछन्।
‘मेला-महोत्सवमा केही वर्गलाई ज्योतिले तिघ्रो देखाउँदा रोमाञ्चक नै होला तर अमेरिका, त्यो पनि तिजमा सुहाउने कुरै भएन।’ गौतम भन्छन्, ‘तिज त सांस्कृतिक चाड हो, दिदी बहिनीले गाउने नाच्ने हो।’
पत्रकार गौतम अर्की गाइका शान्ति श्री परियारका पछिल्ला केही तिज गीत विवादमा परेकाले पनि दर्शक घटेको हुने सक्ने बताउछ्न्।
‘ एक त ज्योतिको छवि अर्को शान्तिश्री का गीत साह्रै राम्रा थिए, तर पछिल्ला केही वर्ष उनले गाएका विशेष गरी तिज गीतमा छाडापन देखियो, त्यो समाजलाई पचाउन गाह्रो परेको छ त्यसले गर्दा पनि दर्शक घटेको हुन सक्छ।’ गौतम भन्छन्, ‘ यो पटक सबै भन्दा मार रचना रिमाललाई पर्यो।’
श्याम कडरिया पनि गौतमको भनाईमा सहमत छन्। ‘रचना जस्तो भद्र, शालिन र ज्योति जस्तो आधुनिक देखाउने कसरी जोडियो यो त मिल्दै मिल्दैन।’ कडरियाले भने।
अब हाँस्छ अमेरिकाका मुख्य व्यक्ति विनोद अधिकारी दर्शकको सहभागिता सोच्दै नसोचेको विषय भएको बत्ताउँछन्। उनले आफ्नो टुरको पहिलो सो बोस्टनमा दर्शकको व्यापक उपस्थिति रहेको बताए।
बोस्टन कार्यक्रमका आयोजक मध्येका एक सन्दीप भट्टराईले आफूहरूको कार्यक्रम घाटामा नै नगएको बताए। तर सोचे अनुसारको फाइदा भने हुन नसकेको उनले बताए।
‘हामी कहाँ दुई सय २५ वटा टिकट बिक्री भयो, स्पन्सर पनि थिए, परिवार सँगै आएकाले मान्छे धेरै नै थिए।’ भट्टराईले भने।
यद्पी छोटो समयको तयारी, प्रचार प्रसारको कमी र एकै दिन धेरै कार्यक्रम जुधेकाले सोचे अनुसार दर्शक नआएको अनुभव उनले सुनाए।
अमेरिकाका उत्तरपूर्वी राज्यहरुमा दर्शकको निराजनक उपस्थितिले अब बाँकी कार्यक्रम के होला भन्ने चिन्ता थपिदिएको छ। आयोजकले अमेरिकाभरी २२ ठाँउमा कार्यक्रम आयोजना गर्ने घोषणा गरेका छन्।